काठमाडौँ । नयाँ दिल्लीमा हिजोदेखि शुरु भएको जी-२० को २ दिने शिखर सम्मेलन आज सकिँदैछ ।
यो सम्मेलनमा अमेरिका र रुसलाई मनाएर जी-२० घोषणापत्र जारी भएको छ । घोषणापत्र मुख्यतः बलियो, दिगो, सन्तुलित र समावेशी वृद्धि, दिगो विकास लक्ष्यमा प्रगतिको गति, दिगो भविष्यका लागि हरित विकास सम्झौता, २१औँ शताब्दीका लागि बहुपक्षीय संस्थाहरू र बहुपक्षवादलाई पुनर्जीवित गर्नेमा केन्द्रित रहेको छ ।
तर जी-२० नेताहरूको वक्तव्यप्रति युक्रेनले निराशा जनाएको छ । युक्रेनले वक्तव्यमा नाम किटाएर रूसको प्रत्यक्ष आलोचना नगरिएको भन्दै असन्तुष्टि जनाएको हो ।
युक्रेनविरुद्ध रूसको आक्रमणबारे जी-२० मा गर्व गर्नुपर्ने केही विषय नरहेको युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता ओलेग निकोलेन्कोले भनेका छन् ।
यो शिखर सम्मेलनमा युक्रेनमा जारी युद्ध र जलवायु परिवर्तनसँग जुध्ने विषयमा देखिएको मतभिन्नताका विषयलाई थप नखोतल्ने र सकेसम्म धेरै कुरामा सहमति जुटाउनमा नेताहरू सहमत भएका छन् ।
प्रतिक्रिया