• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति विशेष

    सरुवा रोक्न नेता र मन्त्रीको ढोका चाहार्दै रामबहादुर, कर्मचारीलाई गृहमन्त्रीको फोन

    45.1K
    SHARES



    काठमाडौँ । अछामको रामारोशन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर भण्डारी सरुवा रोक्न नेता र मन्त्रीको घर-घरमा पुगिरहेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भण्डारीलाई कैलालीको चुरे गाउँपालिका सरुवा गरेको छ ।

    लामो समयदेखि एउटै कार्यालयमा बसेका कर्मचारीलाई सरुवा गर्ने मन्त्रालयको कार्यतालिका अनुसार भण्डारी अछामबाट कैलाली सरुवा गरिएको थियो । स्थानीय सरकारलाई पूर्णरुपमा असहयोग गरेपछि गाउँपालिका अध्यक्ष र उपाध्यक्षले संयुक्त रुपमा भण्डारीलाई सरुवाको माग गरेका थिए ।

    आफ्नो सरुवा रोक्न भण्डारीले नेकपा माओवादी केन्द्र र नेकपा (एमालेका नेताहरुसँग गुहार गरिरहेका छन् । काठमाडौँ पुगेर नेताहरुको घर-घरमा गैर आफ्नो सरुवा रोक्न चलखेल गरेर भण्डारी जिल्ला फर्किसकेका छन् ।
    पार्टीले तय गरेको तीन महिने अभियानमा जान ठिक्क परेका माओवादी केन्द्रका प्रदेश र जिल्लाका केही नेता नेताहरुलाई बोकेर भण्डारी काठमाडौँ आएका थिए । काठमाडौँ पुगेको भण्डारीसहितको टोली मन्त्रालय र नेताहरुका ढोकामा पुगेको बताइएको छ ।

    स्रोतले सञ्चारकेन्द्रलाई दिएको जानकारी अनुसार आफ्नो सरुवा रोक्नका निम्ति प्रधानमन्त्री कार्यालयदेखि गृहमन्त्रीलगायतलाई भेटेर भण्डारी अछाम फर्किएका हुन् । माओवादीका उच्च नेताबाट सरुवा रोक्ने आस्वाशन पाएपछि भण्डारी जिल्ला फर्केका छन् । “प्रधानमन्त्री, गृहमन्त्रीदेखि रक्षामन्त्री निकट व्यक्तिहरुसँग भेटघाट गरेपछि अहिले वातावरण राम्रो हुँदै गएको छ । सम्भवतः भण्डारीजीको थमौती हुन्छ होला” उनलाई सहयोग गर्न काठमाडौँ पुगेका एक नेताले भने ।

    यस्तै सरकारले पठाएको ठाउँमा जानुको साटो भण्डारीजी किन अहिले सरुवा रोक्न लाग्नुभएको हो, आफूहरुले नबुझेको एक जनप्रतिनिधिले संचारकेन्द्रसँग भने । उनले विभिन्न व्यक्ति लगाएर रोमारोशन गाउँपालिकामा सरुवा भएका केशव ज्ञवालीलाई हाजिर नहुन भन्दै विभिन्न व्यक्ति मार्फत धम्कीपूर्ण सन्देश दिइरहेको बताइएको छ ।

    सरुवा रोक्न गृहमन्त्रीको फोन

    भनसुनका काम नगर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि भण्डारीको सरुवा रोक्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारीलाई फोन गरेको स्रोतले सञ्चार केन्द्रलाई बताएको छ । मन्त्रालयका एक अधिकारीका अनुसार गृहमन्त्री श्रेष्ठले फोन गरेरै भण्डारीको विषयमा मिलाउन भनेका छन् ।

    “गृहमन्त्रीज्यूले समेत चाँसो व्यक्त गरेपछि तयार भएको पत्र टेबुलमा राखेका छौं, रामारोशन पठाइएका कर्मचारीलाई पनि तुरुन्त जानसक्ने अवस्था छैन । उहाँले असुरक्षा महसुश गर्नुभएको छ” एक अधिकारीले भने । यसअघि भण्डारीलाई मन्त्रालयले बाजुराको हिमाली गाउँपालिकामा सरुवा गरेको थियो । तर, शक्तिको दुरुपयोग गर्दै हारिज गरेर ५ दिनमै रामारोशन फर्किएका थिए ।

    गृहमन्त्रीलाई क-कसले फोन गर्न लगाए ?

    माओवादी केन्द्रबाट सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्री बनेका झपट साउदले गृहमन्त्रीलाई फोन गरेर भण्डारीलाई रोक्न आग्रह गरेको बताइएको छ । साउदले सुरुमा सरुवा गर्नेबारे छलफल गरेका थिए । मन्त्रालयमा सरुवाको लागि अध्यक्ष र उपाध्यक्षले संयुक्त रुपमा निवेदन दिएको सार्वजनिक भएपछि भण्डारी धनगढी झरेर मन्त्री साउदलाई भेटेका थिए । मन्त्री साउदले जसरी भएपनि सरुवा रोक्ने आस्वाशन दिँदै गृहमन्त्रीलाई फोन गरेको स्रोतको दाबी छ ।

    पार्टीको तीन महिने अभियानमा अछामको साफेबगर क्षेत्र कार्यक्षेत्र पाएकी रामारोशन गाउँपालिकाकी पूर्वअध्यक्ष तथा माओवादी केन्द्रकी नेतृ सरस्वती रावल भण्डारीसँग काठमाडौँ आएकी थिइन् । सरुवा रोक्न सबै भन्दा सक्रिय भएर लागिपरेकी रावल भण्डारी पनि अछाम फर्कीसकेकी छन् ।

    अभियान सुरु हुनै लाग्दा समेत जिल्ला र अभियान क्षेत्रमा भइरहेका बैठक र छलफलमा सहभागी नभएर सरस्वती काठमाडौँ लागेपछि पार्टीभित्रै आलोचनाको पात्र बनेकी थिइन् । उनले एकजना कर्मचारीको सरुवा रोक्न राजनीतिक भविश्य नै दाउमा किन राखिन् भन्ने छलफल माओवादी नेताहरुकाबीच चल्न थालेको थियो ।

    सरुवा न्यायोचित नभएकाले रोक्ने प्रयास गरेको हुँ : भण्डारी

    यस्तै प्रमुख प्रशासकिय अधिकृत रामबहादुर भण्डारीले अध्यक्ष र उपाध्यक्ष एकजुट भएर संघिय मामेला तथा सामान्य प्रसाशन मन्त्रालयमा आफ्नाबिरुद्ध आरोप पत्र नै पेश गरेर आफ्नो सरुवा गर्न गएको र त्यसबाट आफ्नो चरित्र हत्या समेत भएका कारण उक्त सरुवा न्यायोचित नभएकाले सरुवा रोक्न आफ्नो पहूँच भएको ठाउँमा पुगेको स्वीकार गरेका छन्।

    उनले जनप्रतिनिधिहरु ‘जसरी हन्छ त्यसरी’ आफुलाई सरुवा गराउने एजेण्डा बोकेर अध्यक्ष र उपाध्यक्ष दुई महिनादेखि काठमाडौँमै बसेको आरोप समेत लगाएका छन्। भण्डारीले सञ्चार केन्द्रसँग कुरा गर्दै भने- “यति धेरै सड्यन्त्रका बाबजुत मेरो सरुवा भएको छ भने यो सरुवा नियमित हैन, यदि मेरो सरुवा नियमित हैन भने त्यस्तो सरुवा रोक्न त्यही प्रकारको प्रक्रिया अपनाउनुलाई सामान्य रुपमा लिनुपर्छ।”

    अहिलेको सरुवा आफ्नो इज्जत र प्रतिष्ठाको कुरा भएकाले आफुले सम्बन्धित निकायमा जसरी पनि रामारोशन चाहिन्छ भनेको बताउदै उनले कुनै पनि हालतमा रामारोशन नछोड्ने जिकिर समेत गरे। अख्तियारमा तपाईका बिरुद्ध दर्जनौं मुद्दा छन् रे नि त ? भन्ने सञ्चारकेन्द्रको प्रश्नमा भण्डारीले भने- “हरेक कार्यालयका अख्तियारमा मुद्दा हुन्छन्, हाम्रो बिरुद्ध दर्जन मात्र हैन ३० भन्दा बढी मुद्दा छन्।, यो स्वभाविक कुरा हो।”

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ