काठमाण्डाै। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि परराष्ट्र नीति सञ्चालनबारे गम्भीर प्रश्नहरू उठेको टिप्पणी गरेका छन् ।
आज सोमवार प्रतिनिधिसभाकाे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अध्यक्ष ओलीले परराष्ट्र नीति र व्यवहारलाई लिएर सरकारको गतिविधिबारे गम्भीर प्रश्नहरू उठेको बताएका हुन् ।
ओलीले परराष्ट्र नीतिको मामिलामा सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने अवस्था आएको पनि बताए । उनले भने, ‘सरकारको परराष्ट्र नीति र व्यवहारको तालमेल नभएको र अस्पष्टताबारे बजारमा गम्भीर प्रश्नहरू उठेका छन् ।
सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता, भूगोलको रक्षा, भौगोलिक अखण्डता, राष्ट्रिय हितको सवालमा प्रश्न उठिरहेका छन् । हाम्रो छिमेक सम्बन्ध, क्षेत्रीय सङ्गठन, तिनको प्रभावकारिता, तिनीसँगको हाम्रो सम्बन्ध, हाम्रो भूमिका के, कस्तो भइरहेको छ ? हाम्रो अन्तराष्ट्रिय छवि कस्तो रहेको छ ? छिमेकीका विरुद्ध हामी प्रत्यक्ष वा परोक्ष कुनै हिसाबले पनि गतिविधि गर्दैनाैँ ।
हाम्रो भूमि कसैका विरुद्ध कसैलाई पनि प्रयोग गर्न दिदैनौँ । यस्ता हाम्रा आधारभूत सिद्धान्तहरूका प्रश्नमा राष्ट्रले एकजुट भएर पुनर्पुष्टि गर्नुपर्ने अवस्था आएको छ । अरू कुरामा प्रतिस्पर्धा हुन्छ तर बाह्य सम्बन्धमा, छिमेक सम्बन्धमा, परराष्ट्र सम्बन्धमा, अन्तर्राष्ट्रिय नीतिको मामिलामा सबै पक्षहरू एकजुट हुन्छन् ।’
प्रतिक्रिया