काठमाडौँ । सुनकोशी नदीमा ५ दिनदेखि बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को जिप र २ कर्मचारीको शव पनि फेला परेका छन् ।
घटनास्थलबाट करिब २ सय मिटर तल कोशीको पारितर्फ किनारमा गाडीको अवस्थामा जिप र शव फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्स्पेक्टर सुवास थापाको कमान्डको गोताखोरले मंगलबार साँझ सवा ६ बजे सुनकोशीबाट गाडी र २ वटा शव बाहिर निकालेको हो ।
कोशीको बहाव फर्काएर नदीमा पानी घटाएपछि गाडी र शव फेला परेको हो । भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको बा १ झ ७४६७ नम्बरको जिप शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट- घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका- ७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो ।
दुर्घटनामा सीटीईभीटीका प्रशासन शाखाका निर्देशक तनहुँको भानु- ९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति- ७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल बेपत्ता भएका थिए ।
प्रतिक्रिया