• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    गर्मीले मोरङमा जनजीवन कष्टकर

    2K
    SHARES



    काठमाडौँ । मोरङमा केही दिनदेखि गर्मी अत्यधिक बढेको छ । गर्मी ह्वात्तै बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ ।

    बिहानैदेखि चल्ने तातो हावाका कारण सर्वसाधारणलाई दैनिक क्रियाकलाप गर्न असहज बन्दै गएको छ । वृद्धवृद्धादेखि बालबालिकासम्मलाई गर्मीका कारण बढी समस्या भएको छ ।

    बिहानदेखि घर बाहिर हिँडडुल गर्न मुस्किल भएको छ । गर्मीबाट बच्नका लागि सर्वसाधारणले मात्र नभई पशुपन्छीले पनि छहारी खोज्न थालेका छन् । केही दिनदेखि विराटनगरको अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसदेखि ४२ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ ।

    विद्यार्थी र मजदुर बढीजसो चर्को घामको मारमा परेका छन् । गर्मीका कारण पठनपाठन प्रभावित बनेको छ । केही स्थानीय तहले गर्मी बढेपछि विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

    विराटनगर- २ स्थित जनता नमुना माविकी आस्मिन खातुनले घामबाट बच्न दैनिक छाता ओढेर विद्यालय जाने गरेको बताइन् । “कक्षा कोठामा बसेर पढ्न असिनपसिन भइन्छ”, उनले भनिन्-“गर्मीका कारण पसिना चुहिएर किताब कापी भिज्छन् ।”

    विराटनगर-५ स्थित किड्स भिलेजका प्राचार्य विजय दाहालले अत्यधिक गर्मीका कारण विद्यार्थी बिरामी पर्न थालेका बताए । उनले भने, “गर्मीले विद्यार्थी कक्षामा बस्नै सक्दैनन् । कतिपय विद्यार्थीको नाथ्री फुटेर नाकबाट रगत बग्दा घरबाट अभिभावकलाई बोलाउनु परेको छ ।”

    विराटनगर-२ स्थित पोखरिया माविका प्राचार्य खेमराज भट्टराईले बढ्दो गर्मीका कारण विद्यालयमा पठनपाठन असहज बन्दै गएको बताए । “विद्यालय आउने विद्यार्थीको सङ्ख्या दैनिक घट्दै गएको छ”, उनले भने ।

    यस्तै विराटनगर-३ सुकन्या मार्गका विमल कोइरालाले गर्मीले सताएको समयमा बेला बेलामा बिजुली जाँदा झन समस्या भएको बताए । बेलाबेलामा विद्युत् अवरुद्ध हुँदा रातभर जाग्राम बस्नु परेको उनको भनाइ छ । बर्जु गाउँपालिकाका रिक्सा चालक जयराम रायले गर्मीका कारण यात्रु भेटिन छाडेको बताए । गर्मीका कारण आम्दानी ह्वात्तै घटेको रायले बताए ।

    कोशी अस्पताल आकस्मिक विभागका चिकित्सक डा राकेश यादवले गर्मीका कारण बिरामीको चाप बढेको बताए । दैनिक एक सयदेखि दुई सयको हाराहारीमा झाडावान्ता, भाइरल ज्वरो, नाकबाट रगत बग्ने, एलर्जी लगायतका रोगका बिरामी आउने गरेको उनले बताए ।

    डा यादवे गर्मीका बेला सकेसम्म घरबाट बाहिर ननिस्कन सुझाव दिए । बढ्दो चापका कारण एउटै बेडमा तीन जनासम्म बिरामी राख्नुपर्ने बाध्यता रहेको बताए ।

    विराटनगर महानगरपालिकाले गर्मी बढेपछि यही जेठ १८ र १९ गते नगरक्षेत्रभित्रका सम्पूर्ण सामुदायिक एवं संस्थागत विद्यालय बन्द गरेको थियो । रासस

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया