काठमाण्डाै । मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू- भागमा तातो हावा तथा ‘लु’ लाग्न सक्ने चेतावनी जारी गरेको छ ।
महाशाखाले आज शुक्रवार दिउँसो विशेष बुलेटिन जारी गरेर विगत केही दिनदेखि काठमाण्डाै उपत्यकासहित देशभर गर्मी बढेको भन्दै तराईका भू-भागमा आउँदो ५ दिन ‘लु’ लाग्न सक्ने चेतावनी दिएको हो ।
पहाडी भू-भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिकरूपमा बढ्न सक्ने सम्भावना रहेकोले सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।
काठमाण्डौ उपत्यकासहितका ठाउँको तापक्रम क्रमिक वृद्धि भइरहेको तथा मध्य तराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन भएको महाशाखाले जनाएको छ ।
पछिल्लो ५ दिनदेखि आकाश खुला भई निरन्तर चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रम पनि बढिरहेकाले बढी गर्मी भएकाे महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।
पश्चिमी वायु सक्रिय नरहेकाले वर्षा नहुँदा गर्मी बढेको उनको भनाइ छ । काठमाण्डौको अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस पुगेको छ भने सीमरा, जनकपुरलगायतका ठाउँको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ ।
तातो हावा तथा ‘लु’ का कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने महाशाखाले जनाएको छ ।
‘लु’ तथा गर्मीको समस्याबाट बच्न याे समयमा सकेसम्म बाहिर ननिस्कन, हल्का लुगा लगाउन, बाहिर निस्कनै परे टाउको छोप्न, टोपी लगाउन, पटक- पटक पानी तथा जुस, सर्बतलगायतका झोल पदार्थ प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा तत्कालै स्वाथ्यकर्मीसँग सम्पर्क गर्न महाशाखाको अनुरोध छ ।
प्रतिक्रिया