काठमाडौँ । सुनकोशी नदीमा शुक्रबार बिहान ११ बजे आसपासमा स्कार्पियो खस्दा बेपत्ता भएका ३ जनाको पहिचान खुलेको छ ।
भक्तपुर सानोठिमीस्थित प्राविधिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटी)बाट खोटाङ जाने क्रममा बिएबी ७४६७ नम्बरको स्कार्पियो सिन्धुलीको गोलञ्जोर गाउँपालिका- ७ लौकुन नभघाटबाट सुनकोशी नदीमा खसेको थियो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार स्कोर्पियोमा चार जना सवार रहेकोमा चालक दाङ राप्ती गाउँपालिका- ६ का ३१ वर्षीय कृष्ण चौधरी पौडी खेली बाहिर निस्कन सफल भएका थिए भने बाँकी तीन जना अझै बेपत्ता छन् ।
बेपत्ता हुनेमा तनहुँ भानु नगरपालिका-९ घर भई सिटिइभिटीको सानोठिमीस्थित कार्यालयका प्रशासन शाखाका निर्देशक सहसचिव कृष्णबहादुर केसी, पूर्वीनवलपरासी प्रगति नगरपालिका-७ का घर भई हाल योजना महाशाखाका निर्देशक यमप्रसाद घुर्तेल र इलाम फुयतया नगरपालिका-५ घर भई हाल विद्युत् प्रशिक्षकका रुपमा कार्यरत भानु पौडेल छन् ।
सडकबाट गाडी करिब एक सय ५० मिटर तल रहेको सुनकोशी नदीमा खसेको थियो । घाइते चालक चौधरीको मुख र हातमा चोट लागेको र उनको हाल शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।
स्कार्पियो अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ । बेपत्ताहरूको खोजी भइरहेको नायब उपरीक्षक दाहालले जानकारी दिए ।
प्रतिक्रिया