काठमाण्डाै । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको मागसहितको रिट निवेदन फेरि सर्वोच्च अदालतमा दर्ता भएको छ ।
लामिछानेको प्रतिनिधि सभा सदस्य पद खारेज गरिपाउँ भनेर युवराज पौडेल सफलले पेस गरेका रिट निवेदन दर्ता भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिएका छन् ।
लामिछानेविरुद्ध पेस भएको रिट सर्वोच्च अदालतले आज बुधवार दर्ता गर्दै जेठ १७ गते पेसी तोकेको छ । रिटमा लामिछानेको प्रतिनिधि सभा सदस्य पद खारेज गर्ने आदेशको माग गरिएको छ ।
लामिछानेले अमेरिकी नागरिकता त्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्त गर्नुपर्नेमा पुरानै नागरिकताको प्रतिलिपिमात्रै लिएको दाबी गर्दै युवराज पौडेलले अर्को मुद्दा दर्ता गराएका अदालतका प्रवक्ता पौडेलले बताएका छन् ।
यसअघि नागरिकता विवादमा सर्वोच्च अदालतको आदेशपछि उनको सांसद र उपप्रधानमन्त्री पद गुमेको थियो । पुरानो नागरिकता फेरि लिएपछि उनी उप- चुनावबाट प्रतिनिधि सभामा पुनः निर्वाचित भएका छन् ।
अमेरिकी नागरिकता त्याग गरेपछि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको सर्वोच्च अदालतले ठहर गरेपछि गएको माघमा उनले पुनः आफ्नो पुरानो नेपाली नागरिकता बिउँताताएका थिए ।
पौडेलले नै यसअघि पनि लामिछानेविरुद्ध उनले नेपाली नागरिकता पुनः प्राप्ति नगरेको दाबी गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्तागराएका थिए ।
प्रतिक्रिया