काठमाडौँ । नेकपा एमालेले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीमाथिको अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाएको छ ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले कानुनको कार्यान्वयन गर्न र दोषीलाई कानुनको कठघरमा ल्याउन पार्टीले सहयोग गर्ने नीति रहेको बताए ।
‘हामी छानबिनमा सघाउँछौ,घटनाको गहिराइमा पुग्नुपर्छ भन्ने नै एमालेको प्रारम्भिक धारणा हो’, उपमहासचिव ज्ञवालीले भने, ‘दोषीहरू जोसुकै भए पनि कारबाहीको दायरामा आउनुपर्छ ।’
यस प्रकरणमा बैठक बसेर थप धारणा सार्वजनिक गर्ने पनि उनले बताए। ‘यो प्रकरण आएपछि हामीले विस्तृत छलफल गर्न पाएका छैनौं,’ उनले थपे, ‘राज्यका निकायलाई सहयोग गर्ने नै हाम्रो नीति छ। यसमा प्रतिबद्ध छौं।’
नक्कली शरणार्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ परिसकेका छन्। गएराति पक्राउ परेका उनलाई आज बिहानै बुद्ध एयरको विमानमार्फत् काठमाडौं ल्याइसकिएको छ। टोपबहादुरविरूद्ध पनि पुर्जी जारी भइसकेकाले उनी पनि प्रहरीको उच्च निगरानीमै रहेको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ।
पक्राउ पुर्जी जारी भएका बेला टोपबहादुर गृह जिल्ला अर्घाखाँचीमा थिए। उनी हिजै फर्कने तय भए पनि पक्राउ पर्ने भयले काठमाडौं नआएको सुरक्षा स्रोतले बताएको छ।
प्रतिक्रिया