काठमाडौँ । नेकपा माओवादी केन्द्रले बारा-२ मा हुनलागेको उपनिर्वाचनमा जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने भएको छ ।
चितवन-२ र तनहुँ-१ मा माओवादीले आफ्नै उम्मेदवार उठाउने तयारी गरे पनि ठोस निर्णय भने भइसकेको छैन । ती क्षेत्रमा सत्तारुढ गठबन्धनबाटै साझा उम्मेदवार बनाउने सम्भावनालाई ध्यानमा राखेर माओवादी केन्द्रले तत्काल उम्मेदवारीबारे ठोस निर्णय नगरेको हो ।
आगामी वैशाख १० गते हुने ति ३ निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।
बारा-२ मा यसअघि जसपा नेपालले जितेको थियो । सो पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामसहाय यादव उपराष्ट्रपति बनेसँगै उक्त निर्वाचन क्षेत्र रिक्त रहेको थियो ।
त्यसैले उक्त क्षेत्रमा सत्तारुढ गठबन्धनबाट जसपा नेपाललाई नै सघाउने तयारी भइरहेको भनिएको छ । जसअनुसार नेपाली कांग्रेस र माओवादी केन्द्रले उक्त क्षेत्रमा जसपाबाट उम्मेदवार बन्ने तयारीमा रहेका उपेन्द्र यादवलाई सघाउने निर्णय गरिसकेका छन् ।
बारा-२ मा माओवादीले जसपा अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको पार्टीका सचिव गणेश साहले बताए । ‘बारा-२ बाट हाम्रो पार्टीको उम्मेदवार हुने छैन । हामीले उपेन्द्रजीलाई सघाउने निर्णय भइसकेको छ,’ साहले भने, ‘यदि हामीले चुनाव जितेको भए पहिलो दाबी हुने थियो । हामीले चुनाव हारेको क्षत्रपर्यो । गठबन्धनलाई साथमा लिएर जानुपर्ने भएकाले उपेन्द्रजीलाई सघाउने तयारी छ ।’
बारा-२ बाट तत्कालीन माओवादी नेता शिवचन्द्र कुशवाहाले चुनाव लड्ने तयारी गरेका थिए । माओवादीले उपेन्द्र यादवलाई सघाउने संकेत पाएपछि कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका छन् । अब कुशवाहा जनमत पार्टीबाट उम्मेदवार हुने भएका छन् ।
चितवन–२ भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दाका कारण रिक्त रहेको थियो । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट लामिछाने नै फेरि उम्मेदवार बन्ने भएका छन् । सो क्षेत्रमा नेपाली कांग्रेसले जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने तयारी गरेको छ । तर माओवादी केन्द्रले पनि उम्मेदवारीका लागि तयारी गरिरहेको स्रोतको भनाइ छ ।
माओवादीले चितवन-२ मा उम्मेदवारको टुंगो नलगाएको चितवन जिल्ला संयोजक आरसी अधिकारीले बताएका छन् । ‘चितवन-२ मा पार्टीले कसैको नाम सिफारिस गरेको छैन । पार्टी केन्द्रले जुन निर्णय गर्छ, त्यो कार्यान्वयन गरेर जान्छौँ । अहिलेसम्म पार्टीको आधिकारिक उम्मेदवार छैन,’ अधिकारीले भने । यस क्षेत्रबाट कसैको नाम सिफारिस नभएकाले कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई सहयोग गर्न सक्ने देखिन्छ छ ।
उता, तनहुँ १ मा भने माओवादी केन्द्रबाट पार्टीको कोषाध्यक्षसमेत रहेका श्रीराम ढकाल सहित ओमकुमारी पौडेल, क्षितिज लामिछाने सूर्यबहादुर गौलीको नाम सिफारिस भयो ।
पहिलो नम्बरमा सिफारिस भएका ढकालले चुनाव नलड्ने घोषणा गरेपछि कुनै निर्णय नभएको पार्टी केन्द्रीय सदस्य आशा कोइरालाले भनेकी छन् ।
प्रतिक्रिया