सिमरा । १३ औं जीतपुर सिमरा गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेड क्लबले पहिलो सहभागितामै हात परेको छ । गया राति भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २-० ले हराउंदै चर्च ब्वाइज युनाइटेडले उपाधि हात पारेको हो ।
उपाधिसँगै चर्च ब्वाइजले १० लाख नगद र ट्रफी हात पार्यो भने उपविजेता हिमालयन शेर्पाले पाँच लाख रुपैयाँमा चित बुझायो । चर्च ब्वाइजलाई जीतपुर सिमरा गोल्डकपको ट्रफी दिलाउने क्रममा कप्तान मिलन राई र आशिष चापागाईंले गोल गरे । खेलको सुरुआतमै १० खेलाडीमा समेटिएको हिमाालयन शेर्पाले सिमराका समर्थकमाझ जीतका लागि अन्तिमसम्म संघर्ष गरेको थियो ।
खेलको छैठौं मिनेटमा हिमालयन शेर्पाका दिवस उराव रातो कार्ड खाँदै मैदानबाट बाहिरीएका थिए । दश खेलाडीमा सीमित बनेर पनि चर्च ब्वाइजलाई शेर्पाले पहिलो हाफको अन्तिमसम्म चुनौती दिएको थियो ।
तर, खेलको ३५औं मिनेटमा मिलन राईले फ्रि किक गोल गर्दै टिमलाई १-० को अग्रता दिलाए । दोस्रो हाफको इन्जुरी समयमा आशिष चापागाईंले गोल गर्दै अग्रता दोब्बर बनाउँदै जीत दिलाए ।
विधागत पुरस्कारतर्फ पनि जीतपुर सिमरा गोल्डकपको उपाधि विजेता चर्च व्वाईजकै बर्चस्व रहृयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका डिफेण्डर कमल श्रेष्ठ घोषित भए । उनले टिभीएस राइडर मोटरसाइकल प्राप्त गरेका हुन् ।
प्रतिक्रिया