सिमकोट । हुम्ला सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालमा औषधि अभाव भएको छ । सिमकोटमा बिगत ३ महिनादेखि औषधि अभाव हुँदा सामान्य देखि जटिल रोगका बिरामीलाई समस्या हुने गरेको छ।
अस्पतालमा ९८ प्रकारका औषधि हुनुपर्नेमा हाल २५ प्रकारकाऔसधि मात्र रहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रेम सिंहले बताए । “जिल्ला अस्पतालको औषधि स्टोर कक्ष तीन महिनादेखि रित्तै छ । प्रदेश सरकारले खरिद प्रक्रियामा ढिलाइ गर्दा औषधि अभाव भएको हो”, उनले भने ।
प्रमुख सिंहका अनुसार उपचार गर्न आउने अधिकांश बिरामी औषधि नपाएर रित्तै फर्किने गरेका छन् । सिमकोट र नाम्खा गाउँपालिकास्थित स्वास्थ्य चौकीबाट सापटी मागेर बिरामीको उपचार गर्नुपरेको उनको भनाइ रहेको छ ।
प्रदेश सरकारलाई औषधि अभावबारे पटक-पटक जानकारी गराएको भए पनि हालसम्म सुनुवाइन नभएको प्रमुख सिंहले बताए । दुई-तीन पटक मन्त्रालयमा गएर यसबारे जानकारी गराउँदा पनि सुनुवाइ नभएको उनको भनाइ छ । पन्ध्र शय्याको जिल्ला अस्पतालमा यसबाट बिरामी मारमा परेका छन् ।
केही दिनअघि विष सेवन गरेका सिमकोट गाउँपालिका-१ का वीर भण्डारीलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको हो । औषधि अभावका कारण सामान्य उपचार गरी नेपालगञ्ज पठाइएको अस्पतालले जनाएको छ ।
अस्पतालमा औषधि अभाव भएपछि बिरामीले निजी क्लिनिकबाट औषधि किन्नुपर्ने बाध्यता रहेको खार्पुनाथ गाउँपालिका-४ का प्रजित रोकायाले बताए ।
प्रतिक्रिया