• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    मन्त्रिपरिषद् पुनर्गठन, एकै पटक १२ जना मन्त्रीले लिए शपथ

    651
    SHARES


    काठमाडौँ । लामो कसरतपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् पुनगर्ठन गरेका छन् । प्रधानमन्त्री भएको तीन महिनामा सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गर्नेक्रममा एकै पटक १२ जना मन्त्रीले शपथ लिएका हुन ।

    प्रचण्ड क्याबिनेट अब १६ मन्त्री र एक राज्यमन्त्री गरेर १७ जना उनको भएको छ । तर सत्ता साझेदार दलभित्रै समझदारी बन्न नसक्दा ६ मन्त्रालय अझै रिक्त रहेका छन् ।

    जसमा कांग्रेसको भागमा परेका ४ मन्त्रालय, जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीबाट एक/एक मन्त्रालय रिक्त भएका छन् । यद्यपि जनमत पार्टीका खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएकाले अन्योल भएको छ ।

    नवनियुक्त १२ जना मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका छन् । प्रधानमन्त्रीले कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

    कांग्रेसबाट मन्त्री बन्नेहरूमा पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकास मन्त्री छन् । त्यस्तै माओवादीबाट शक्ति बस्नेतले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस्तै एकीकृत समाजवादीबाट वेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् ।

    जसपाबाट अशोक राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन् । त्यस्तै लोसपाबाट शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्दा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    त्यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका महिन्द्र राय यादवलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा अझै ६ मन्त्रालय रिक्त छन् । प्रधानमन्त्री प्रचण्डले तीन महिनामा सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गर्दा समेत ६ मन्त्रालय रिक्त छन् ।

    सत्ता साझेदार दलमा भएको सहमति बमोजिम चार मन्त्रालय नेपाली कांग्रेस, एक जनता समाजवादी पार्टी (जसपा) र एक जनमत पार्टीको भागमा परेको मन्त्रालय हो ।

    जनमत पार्टीले कृषि र उद्योगमध्ये एक मन्त्रालयमा दाबी गरेको थियो । उद्योगमा कांग्रेस नेता रमेश रिजाल र कृषि मन्त्रालयमा एकीकृत समाजवादीका बेदुराम भुसाल मन्त्री भएपछि जनमत पार्टीका खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएका छन् ।

    कांग्रेसका परराष्ट्र, स्वास्थ्य, कानुन र खेलकुद गरेर चार मन्त्रालय हुन । कांग्रेस संस्थापन र इतरपक्षका नेताहरुबीच समझदारी बन्न नसक्दा कांग्रेसको भागमा परेको मन्त्रालय समेत रिक्त हुन पुग्यो ।

    कांग्रेसभित्र आपसी समझदारी भएपछि प्रधानमन्त्रीले शपथ गराउने तयारी गरेका छन् । यस्तै जसपाको भागमा परेको वन तथा वातावरण मन्त्रालय समेत रिक्त हुन पुग्यो । जसपाका ११ जनै सांसद मन्त्री हुन कुद्न थालेपछि शिक्षा मन्त्री अशोक राईले मात्रै शपथ लिएका छन् ।

    यस्तै माओवादी केन्द्रका सचिव दीनानाथ शर्माले ६ मन्त्रालय तीन पार्टीबाट पूर्ति हुने बताए । जनमत पार्टीले चित्त बुझ्दो मन्त्रालय नपाएकाले राजीनामा दिएकाले चित्त प्रशन्न हुनेगरी मन्त्रालय दिएर मनाउनुपर्ने शर्माले बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया