काठमाडौँ । सापटी दिएको रकम फिर्ता नगर्दा तनहुँमा एक महिलाको हत्या भएको घटना बाहिरिएको छ ।
पोखरा महानगरपालिका-३३ बाघमारा बस्ने ४२ वर्षीया शान्ति श्रेष्ठको हत्याको अभियोगमा तनहुँ प्रहरीले काभ्रेपलान्चोक पाँचखाल नगरपालिका वडा नं. ५ स्थायी घर भई हाल पोखरा ७ घारीपाटनमा बस्दै आएका ३५ वर्षीय प्रकाश सुनारलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।
सुनारले महिलाको टाउकोमा इँट्टाले प्रहार गरेर हत्या गरी तनहुँको म्याग्दे गाउँपालिका-४ मनहरीस्थित पिपलटार खानेपानी ट्यांकीमा फालिदिएको प्रहरीको आरोप छ ।
गत चैत १२ गते खानेपानी ट्यांकीमा पोखरा महानगरपालिका-३३ बाघमारा बस्ने ४२ वर्षीया शान्ति श्रेष्ठको शव फेला परेको थियो । उनी फागुन २१ गतेदेखि हराएकी थिइन् । आफन्तले चैत ६ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा खोजी कार्य गरी पाउँ भनी निवेदन दिएका थिए ।
घर-घरमा वितरण गरिएको धाराबाट पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्यांकी खोलेर हेर्दा शव फेला परेको थियो । गाडी चालक समेत रहेका सुनार फलफूल लगायत अन्य खाद्यान्नको दुवानी गर्थे । सोही क्रममा उनको भेट शान्ति श्रेष्ठसँग भयो ।
चिनजानपछि उनीहरु घनिष्ठ भए । सोही क्रममा सुनारले श्रेष्ठलाई केही रकम सापटी दिएका थिए । एकल महिला समेत रहेकी श्रेष्ठले आफ्नो छोराको उपचारको लागि सापटी लिएको पाइएको प्रहरीको अनुसन्धान बात खुलेको छ ।
सुनारले सापटी रकम फिर्ता माग्दा श्रेष्ठले नदिएको र त्यही निहुँमा हत्या भएको पाइएको तनहुँ प्रहरी प्रमुख (एसपी) अवधेश विष्टले बताएका छन् । ‘१० हजार रुपैयाँ सापटी रकम फिर्ता नदिंदा सुनारले हत्यालाई अन्जाम दिएको हो । हत्या गरेपछि महिलासँग भएको गरगहना र मोबाइल पनि लुटिएको थियो’, विष्टले भने ।
सुनारले महिलाको गरगहना पोखराको महेन्द्रपुलस्थित रजनी सुनचाँदीका सञ्चालक रविनकुमार गहतराजलाई बिक्री गरेका थिए । गहतराजलाई पनि प्रहरीले पक्रेको छ । सुनारलाई तनहुँ प्रहरीले चैत १५ गते तनहूँको शुक्लागण्डकी नगरपालिका वडा नं. १ थप्रेकबाट पक्राउ परेको थियो । घटनामा संलग्न रहेकालाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत तनहुँबाट म्याद थप गरि अनुसन्धान भइरहेको एसपी विष्टले बताएका छन् ।
प्रतिक्रिया