काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ६२ आंगिक क्याम्पस मध्ये ४४ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको मत परिणको अन्तिम नतिजा सार्वजनिक भएको छ ।
६२ आंगिक क्याम्पसमध्ये १८ वटा क्याम्पसमा स्ववियु निर्वाचन भएको छैन । यी क्याम्पसमा विद्यार्थी संगठनको तालाबन्दी र अदालतको आदेशका कारण मतदान हुन नसकेको हो ।
त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण स्रोतका अनुसार सार्वजनिक भएको परिणामअनुसार नेकपा एमाले निकट अनेरास्ववियुले सबैभन्दा बढी १९ वटामा स्ववियु जित्दा माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी निकट विद्यार्थीले एउटा पनि क्याम्पसमा स्ववियु जित्न सकेको छैन ।
स्रोतका अनुसार मत परिणाम आएका ४४ मध्ये १९ क्याम्पसमा अनेरास्ववियुले जितेको छ भने नेपाली कांंग्रेस निकट नेपाल विद्यार्थी संघले १८ क्याम्पसको स्ववियु सभापति जितेको छ यस्तै माओवादी निकट अखिल क्रान्तिकारीले ४ वटामा जितेको छ ।
यसैगरी, जनता समाजवादी पार्टीनिकट समाजवादी विद्यार्थी युनियनले २ वटा र जनमत पार्टी निकट जनमत विद्यार्थी संघले एउटा क्याम्पसको सभापति जितेको छ । अन्य पार्टीका विद्यार्थी संगठनले कुनै पनि क्याम्पसमा जित्न सकेका छैनन् । त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमध्ये २२ वटा काठमाडौं उपत्यकाभित्र र ४० वटा काठमाडौं बाहिर छन् ।
काठमाडौं उपत्यकाका नेपाल कमर्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, विश्वभाषा क्याम्पस, त्रिचन्द्र, आरआर लगायतको निर्वाचन भने केहिदिन पछि हुने भएको छ ।
प्रतिक्रिया