काठमाडौँ। ‘वानएक्स बेट’मार्फत् सट्टेबाजी गराएको आरोपमा ६ जना एजेन्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ६ एजेन्टलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
जुम्लाका २३ वर्षीय दिलिपसिंह कठायत, २३ वर्षीय भुपालराज न्यौपाने, १९ वर्षीय नयनराज भण्डारी र २८ वर्षीय वरूणकुमार सिंह रहेका छन् ।
यस्तै काठमाडौंका ३२ वर्षीय बासुदेव पाण्डे र काभ्रेका २६ वर्षीया शिवानी तामाङ प्पानी पक्राउ परेका हुन् । उनीहरूले बेटिङ कम्पनी वानएक्स बेटमार्फत् सट्टेबाजी गराएको आरोप रहेको छ । पक्राउ परेका व्यक्तिहरू माथिल्ला तहका एजेन्टहरु हुन् ।
उनीहरूलाई प्रहरीले मंगलबार काठमाडौं उपत्यकाको लोकन्थली, पेप्सीकोला, बानेश्वर लगायत ठाउँबाट पक्राउ गरेको कार्यालयका प्रमुख एवं एसएसपी मनोजकुमार केसीले बताएका छन् ।
उनीहरूबाट ठूलो मात्रामा सिमकार्ड पनि बरामद भएको छ । प्रहरीले ३ सय ४६ थान सिम बरामद गरेको छ । कठायतले विगत एक वर्षदेखि, न्यौपानेले ९ महिना, भण्डारी र सिंहले ६ महिना, तामाङले ८ महिनादेखि र पाण्डेले एक महिनादेखि एजेन्टकोरुपमा काम गर्दै आएका थिए ।
विभिन्न ३५ जना व्यक्तिको नाममा खोलिएका डिजिटल वालेटहरूमा ४१ करोड १५ लाख ८९ हजार २ सय ७६ रुपैयाँ बराबरको कारोबार भएको अनुसन्धानबाट देखिएको एसएसपी केसीले बताएका छन् । यस्तै, अन्य १५ जनाका ३४ वटा बैंक खाताबाट १२ करोड २५ लाख ३५ हजार ९ सय ११ बराबरको बेटिङ कारोबार भएको पनि भेटिएको जनाइएको छ ।
अहिले यी सबै खाता रोक्का गरेर अनुसन्धान अघि बढाएको छ । पक्राउ परेका व्यक्तिहरूबाट जम्मा ९ करोड ८ लाख १३ हजार १ सय ८ बराबरको कारोबार भएको देखिन्छ ।
प्रतिक्रिया