• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    एकता भएको २ हप्ता नपुग्दै ओली-प्रचण्डबिरुद्ध विद्रोहको तयारी, क-कसले छोड्दैछन् अन्डरलाइन ?

    11.2K
    SHARES

    काठमाडौं, ९ जेठ ।

    एमाले-माओवादी एकता भएको २ हप्ता नबित्दै नेकपा अण्डरलाइनभित्रको असन्तुष्ट पक्षले विद्रोहको तयारी गरेको छ । २ पार्टीका ठुला नेताहरुले  आफूनिकटका व्यक्तिलाई मात्रै केन्द्रीय सदस्य बनाएर पार्टीमा योगदान पुर्याएका र सिनियर नेताहरुलाई केन्द्रीय समितिमा समेत स्थान नदिएको भन्दै व्यापक असन्तुष्टि बढेको हो ।

    केन्द्रीय कमिटी सदस्यमा मनोनित हुन नपाएका एक पूर्व एमाले र माओवादी नेताहरुले समानान्तर कमिटि बाउने र माग सुनुवाई नभए बिद्रोह गर्ने तयारी गरेका हुन् ।

    दुई पार्टीका केहि नेता मिलेर खल्तिबाट नाम निकाल्दै केन्द्रीय सदस्य मनोनित गर्दा धेरै सिनियर नेताहरु छुटेको भन्दै पूर्वएमाले र माओवादी पंक्तिमा असन्तुष्टि व्याप्त बनेको छ ।

    एमालेभित्र भीम रावलले तीव्र असन्तुष्टि जनाएर दयालवहादुर शाहीको नाम कटाउँदै ७ नम्बर प्रदेशका ३ जनाको नाम थपे । तर शीर्ष नेताको घरमा चहार्दै यस्ता धेरै नेताहरु गुनासो गरिरहेका छन्– ओली र माधव नेपाल मिलेपछि आउरेभाउरे मात्रै च्यापे, हाम्रो योगदानको कुनै कदर भएन ।

    स्थानीय तहको चुनावमा धनकुटा जिल्लामा क्लीन स्वीप गरेर तीन पार्टीको गठबन्धनलाई पराजित गरेपछि तत्कालीन एमाले अध्यक्ष ओली विजयसभालाई सम्बोधन गर्न धनकुटा पुगेका थिए । उनले धनकुटाका सबै स्थानीय तहमा चुनाव जिताउने जिल्ला अध्यक्ष राजेन्द्र राईलाई म्यान अफ द इलेक्सन घोषणा गर्दै एमालेको ‘शान’ राखेकोमा उचित स्थान दिइने बताएका थिए ।

    तीनै राई ठूलो मतान्तरमा तत्कालीन बहालवाला मन्त्री सुनील थापालाई पराजित गरेर प्रतिनिधिसभा सदस्य भए । तर राई ओलीको क्याबिनेटमा परेनन् । उनी नेकपाको केन्द्रीय कमिटीमा पर्ने अपेक्षा सबैको थियो तर धेरै ‘जुनियर’ र जनमत नभएकाहरुले केन्द्रीय कमिटीमा स्थान पाउँदा राईको नाम ओली र नेपालको ‘लिष्ट’मा अटेन ।

    राईसँगै जिल्ला अध्यक्ष भएका भोजपुरका शेरधन राई पोलिटव्यूरो सदस्य भइसक्दा उनी भने यसपटक पनि केन्द्रीय कमिटीमा परेनन् । नवौं महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार बन्न खोज्दा ओलीलगायतका नेताहरुले उनलाई पछि स्थान दिने भन्दै रोकेका थिए ।

    राई एउटा उदाहरण मात्र हुन् । पार्टी एकता र नेताहरुबीच एकता भएको मौकामा कम्युनिस्ट पार्टीभित्र साँढेको जुधाई बाच्छाको मिचाइ जस्तै भएको गुनासो नेताहरुको छ । मापदण्ड नबनाई नेताहरुको दिमागका आएका नाम केन्द्रीय कमिटीमा मनोनयन गर्दा धेरै योग्य नेता छुटेको टिप्पणी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले बताए ।

    योगेश भट्टराईकै पालमा अनेरास्ववियूको शीर्ष नेतृत्वमा रहेका र राजेन्द्र राई तथा रवीन्द्र अधिकारीको पालामा उपाध्यक्ष भइसकेका शिव गुरुङ यस्तै अन्यायको पात्र बनेका छन् । दुई पटकसम्म संघीय मामिला बिभागको सचिव भइसकेका गुरुङ नवौं महाधिवेशनमा ५ मतले केन्द्रीय सदस्यमा पराजित भएका थिए ।

    नवौं महाधिवेशनमा पराजितहरुलाई केन्द्रीय सदस्य बनाइने मापदण्डमा गुरुङ पहिलो नम्बरमै पर्थे । तर पराजितहरु धेरै समेटिँदा उनी कुनै नेताको लिष्टमा परेनन् । पार्टीभित्रको तत्कालीन गुटबन्दीमा उनी माधव नेपाल पक्षका थिए ।

    माधव नेपाल पक्षमै लागेबापत टिकटसमेत नपाएका नुवाकोटका राजेन्द्रप्रकाश लोहनी, लमजुङका जमीन्द्रमान घले, कञ्चनपुरका उर्वादत्त पन्तहरु यसपटक माधव नेपालकै रोजाइमा परेनन् । यद्यपि, नेपालले भने आफूले धेरै प्रयास गरे पनि नसकेको भनेर उनीहरुलाई शान्त्वना दिएको स्रोतले जनाएको छ ।

    यीबाहेक पाँचथरका गणेश काङमाङ, तेह्रथुमका भवानी खापुङ, सिन्धुपाल्चोकको सुवास कर्माचार्य, धादिङका गुरु बुर्लाकोटी, ललितपुरका कृष्णलाल महर्जनलाई माधव नेपालले चाहेर पनि केन्द्रीय सदस्य बनाउन नसकेको बताएका छन् ।

    त्यस्तै, बाँकेका दलबहादुर सुनार, जुम्लाका देवीलाल थापा, कैलालीका गणेश विश्वकर्मा, सर्लाहीका सुरेन्द्र लामा माधव नेपाल पक्षमा लागेर पनि केन्द्रीय कमिटीमा ओली नेपाल भागबण्डामा परेनन् । झलनाथ खनाल निकट पुरुषोत्तम पौडेल पनि केन्द्रीय कमिटीमा पर्न सकेनन् ।

    दुवैपटक संसदमा अत्यन्त राम्रो प्रदर्शन गरेका चितवनका कृष्णभक्त पोखरेल, अघिल्लो संसदमा भूमिका खेलेका र भीम आचार्यको कोपभाजनमा परेर सुनसरीमा टिकट नपाएका रेवती भण्डारी पनि नेताको रोजाइमा परेनन् ।

    त्यसो त अध्यक्ष ओलीसँग झन् ठूलो लिष्ट थियो । उनले आफ्ना धेरै सहयोगीहरुलाई केन्द्रीय सदस्य बनाउँदा पनि ठूलो संख्या छुटेको भन्दै उपयुक्त अवसर दिइने आश्वासन बाँडिएको छ ।

    धनकुटाका राजेन्द्र राई, पाँचथरका वसन्त नेम्वाङ, सर्लाहीका गणेश प्रसाईं, सिन्धुपाल्चोकका सरेश नेपाल, हस्त पण्डित, नुवाकोटमा केशव पाण्डे, मकवानपुरमा कृष्णप्रसाद दाहाललगायतलाई ओलीले केन्द्रीय सदस्य बनाउन सकेनन् ।

    त्यस्तै युवा संघ अध्यक्ष भइसकेका राजीव पहारी अखिल अध्यक्ष भइसकेका किशोरविक्रम मल्ल, नवीना लामा पनि केन्द्रीय कमिटीमा पर्न सकेनन् । पोखराको मेयर भइसकेका कास्कीका चर्चित नेता कृष्ण थापा, बागलुङका हीरा केसीको दौडधुप पनि काम लागेन ।

    नवौं महाधिवेशनमा एक मतले केन्द्रीय सदस्यमा पराजित भएका तर बैतडीबाट २ पटक निर्वाचित सांसद् दामोदर भण्डारी अझै दौडधूप गरिरहेका छन् । जाजरकोटका दीलबहादुर सिंह अहिलेसम्म कुनै अवसर नपाउने अभागी नेतामा यसपटक पनि दर्ज भएका छन् ।

    तत्कालीन एमालेमा केन्द्रीय सदस्य बन्न योग्य नेताहरुको ठूलो समूह रहेकाले निश्चित कोटामा सबै अटाउन नसकेको पूर्वमहासचिव ईश्वर पोखरेलले बताए । पोखरेलले एकीकृत पार्टीमा योग्यता र क्षमताका आधारमा सबैले जिम्मेवारी पाउने भएकाले कसैलाई निराश नहुन आग्रह समेत गरेका छन् ।

    पूर्वमाओवादी समूहमा झन् ठूलो हलचल मच्चिएको छ । अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामवहादुर थापा बादलबीच सहमति भएर आएको भनिएको २०० जना केन्द्रीय सदस्यको सूचीमा नपरेकाहरुले सामाजिक सञ्जालबाटै आक्रोश व्यक्त गरिरहेका छन् ।

    केन्द्रीय सदस्यको सूचीमा परेका रुकुमका गोपाल शर्माले आफूभन्दा सिनियर धेरैजना छुटेको भन्दै पद अस्वीकारको घोषणा गरेका छन् । आफूलाई आमन्त्रितमा राखेकोमा वरिष्ठ नेता अमिक शेरचन नै असन्तुष्ट रहेको स्रोतको दावी छ ।

    माओवादी धारमा झन् भद्रगोल

    तत्कालीन एमालेमा भन्दा माओवादीमा भद्रगोल देखिएको छ । तत्कालीन एमालेमा २०० जना निर्वाचित केन्द्रीय सदस्य भएकाले ४५ जनामात्र थपिएकाले ४५ भित्र नपर्नेको मात्र असन्तुष्टि आएको हो । तर तत्कालीन माओवादीमा पार्टी संरचना नै लथालिंग थियो ।

    पार्टी एकीकरणको दिन निर्वाचन आयोगमा बुझाइएको सूचीमा तत्कालीन माओवादीबाट ८८ जनामध्ये ३१ नम्बरमा टंक राईको नाम थियो । खोटाङबाट २ पटक एमालेको सांसद निर्वाचित भएका राई माले हुँदै माओवादी भएका थिए । उनी सचिवालय सदस्य थिए तर अन्तिम सूचीमा उनको नाम रहेन ।

    ४ हजार केन्द्रीय सदस्यबाट २ सय जना छान्दा कुनै मापदण्ड नबनाइएको गुनासो उनीहरुको छ । विशेष गरी अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्ल, पूर्वसभासदहरु राजकुमार श्रेष्ठ, निरु दर्लामी, झापाका झलकसिंह दर्लामीलगायतले तीव्र असन्तुष्टि जनाएका छन् ।

    तत्कालीन एकीकृत नेकपा माओवादीका ८८ सदस्यीय केन्द्रीय कमिटीकै सदस्य रहेका रामेछापका धावा लामा यसपटक परेनन् । उनी रामेछापका तत्कालीन माओवादीका इञ्चार्ज र सबैभन्दा सिनियर हुन् । त्यस्तै जिल्ला संयोजक मैनकुमार मोक्तान पनि परेनन् । सह–संयोजक श्याम श्रेष्ठले भने बाजी मारे ।

    पूर्वमन्त्रीसमेत रहेका काभ्रेका सूर्यमान दोङ, ३ नम्बर प्रदेशकै वरिष्ठ महिला नेतृ मीना तामाङ नपरेकोमा आपत्ति जनाइएको छ । सिन्धुपाल्चोकबाट पनि वर्षमान पुनले युवराज दुलाललाई अघि बढाउन खोज्दा सरल सहयात्री केन्द्रीय कमिटी बाहिर परेका छन् ।

    स्रोतका अनुसार, प्रचण्ड समूहमा वर्षमान पुन र जनार्दन शर्माले आ–आफ्ना मान्छे टिप्न खोज्दा केन्द्रीय कमिटीमा पर्नुपर्ने धेरै सिनियर नेताहरु छुटेका छन् । नेताको रोजाइमा परेकाहरुले मौका पाएको गुनासो पूर्व माओवादी नेताहरुको छ ।

    कुनै प्रक्रियाविना केन्द्रीय सदस्य बनाइएको भन्दै केन्द्रीय कमिटीमा नपर्ने पूर्वमाओवादी नेताहरुले ‘टीके केन्द्रीय सदस्य’को संज्ञा दिएका छन् । सिन्धुलीकी पूर्वसभासद् निरु दर्लामीले लेखेकी छन्– टीकेहरुको दिन पनि हेरौंला ।

    अनलाइन खबर

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ