काठमाण्डौ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले विदेशमा रहेका सबै नेपालीलाई सामाजिक सुरक्षा योजनामा सहभागी भई लाभ लिन आह्वान गरेका छन् ।
बुधवार वैदेशिक रोजगारीमा रहेका र विदेशमा स्वरोजगार रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकरण गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपालीहरूलाई देशसँग जोडिराख्न र राज्य यहाँहरूसँगै छ भन्ने आभास दिलाउन पाएकोमा आफू हर्षित भएको बताए ।
अहिले बाध्यताले रोजगारीका लागि वैदेशिक रोजगारीमा जान परे पनि वैदेशिक रोजगारीमा रहेका नेपालीप्रति माया र सद्भाव रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले अब देशले सुरु गरेको सामाजिक सुरक्षा योजनामा सहभागी भई फाइदा लिन आह्वान गरे ।
उनले भने ‘सरकार देश यहाँहरूसँगै छ भन्ने प्रतिबद्धता गर्छु, तपाईँहरू जहाँ भए पनि तपाईँहरूले देशको विकासमा सहयोग पुर्याइरहनुभएको छ, तपाईँहरूलाई माया र सद्भाव छ ।’
यस्तै, राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले मङ्गलवार (हिजाे) केही युवाहरूलाई प्रहरीले बोल्न नदिएर मुख थुनेको विषयमा सरकारसँग जवाफ माग गरिन् ।
मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले बानेश्वरमा उहाँविरुद्ध नाराबाजी गरेका थिए । नाराबाजीलगत्तै प्रहरीले युवाहरूको मुख थुनेर बोल्न नदिई उनीहरूलाई पक्राउ गरेको थियो । त्यही विषयमा आज (बुधवार) सांसद पौड्यालले यसबारेमा सरकारको जवाफ माग गरेकी हुन् ।
उहाँले भन्नुभयो, ‘हिजोदेखि सञ्चार जगत् र सामाजिक सञ्जालमा केही युवाहरू बोल्न खोजेको र केही प्रहरीले जबरजस्ती उनीहरूको मुख थुनेको र घाँटी न्याकिरहेको देखिएको छ ।
लछारपछार पारिरहेको तस्बिर देखिरहेका छाैँ । ती युवाहरूले के बोल्न खोजेका थिए र प्रहरीले त्यस्तो ज्यादती गरेको हो ? संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न पाउने, बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको छ ।
प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ कि मिल्दैन ? यसो गर्ने प्रहरीलाई गृह मन्त्रालयले कारबाही गरेको छ कि छैन ? यो विषयमा गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु र जवाफ माग गर्दछु ।’ मङ्गलवार एक सार्वजनिक कार्यक्रममा युवाहरूले प्रधानमन्त्रीसँग आफ्ना कुरा राख्न पाउनुपर्ने माग गरेका थिए ।
प्रतिक्रिया