काठमाडौँ। त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सकिएको छ ।
त्रिविका ६२ वटा आंगिक क्याम्पस मध्ये केहीबाहेक सबैमा मतदान सकिएको हो । केही क्याम्पसहरूमा भने आन्तरिक विवादका कारण मतदान रोकिएको छ । ती बाहेक अन्य क्याम्पसहरूमा ५५ देखि ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको छ ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्याक पशुपति अधिकारीले निकै उत्साहजनक रूपमा मतदान सम्पन्न भएको बताएका छन् । कहि कतै कुनै अप्रिय घटना नभइकन निर्वाचन सम्पन्न भएको उनको भनाई छ । केही स्थानहरूमा निर्वाचन प्रक्रिया रोकिएको तर, केही दिनभित्रमा सम्पन्न हुने पनि उनले बताए ।
स्ववियु इतिहासमा पहिलो पटक शान्तिपूर्ण वातावरण स्ववियु निर्वाचन सम्पन्न भएको निर्देशक अधिकारीले बताए । कम मत खसेपनि कुनै पनि अप्रिय घटना नभएको उनको भनाई रहेको छ । काठमाडौँ उपत्यकाका केही क्याम्पसहरूमा भने अनेपक्षित मतदान भएको छ । शंकरदेव क्याम्पसमा ३५ प्रतिशत मात्रै मत खसेको छ ।
त्यस्तै थापाथली, नेपाल ल क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पस लगायतका उपत्यकाका नाम चलेका क्याम्पसमा भने अनेपक्षित रूपमा मत खसेको छ । ती क्याम्पसहरूमा निकै कम मत खसेको हो । आंगिक बाहेक धेरै जसो सम्बन्धन प्राप्त क्याम्पसहरूमा समेत निर्वाचन सम्पन्न भएको छ ।
कतिपय स्थानको मत परिणाम समेत सार्वजनिक भइसकेको छ । मतदान सम्पन्न भएका क्याम्पसहरूमा सर्वदलीय बैठक बसेर मत गणनाको कार्य थालनी गरिनेछ । त्रिविका विभिन्न ४ वटा क्याम्पसहरूमा भने विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गरिएको छ ।
त्रिवि केन्द्रीय क्याम्पस, थापाथली र पुल्चोक इन्जिनियरिङ क्याम्पस र धरानको केन्द्रीय प्रविधि क्याम्पसमा विद्युतीय मेसिन मार्फत मतदान भएको हो । ती क्याम्पसहरूमा केही समयमा नै निर्वाचन मत परिणाम सार्वजनिक गरिनेछ । ती बाहेकका क्याम्पसहरूमा मध्यरातसम्ममा निर्वाचन मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी भइरहेका छन् ।
त्रिविका १ सय ६ वटा क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको छ । जसअनुसार कोशी प्रदेशका २१ क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएका छन् ।
त्यस्तै बागमतीका १९, गण्डकीका १२, लुम्बिनीका ३४, कर्णालीका १४, सुदूरपश्चिमका ३ र काठमाडौँ उपत्यकाका ५ क्याम्पसमा निर्विरोध स्ववियु चयन भएका हुन् । देशभरका अढाई सय क्याम्पसहरूमा स्ववियु निर्वाचन भएका छन् ।
उता बुटवल बहुमुखी क्याम्पसमा पनि स्ववियु निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । ७ हजार १ सय १० मतदाता विद्यार्थी रहेको क्याम्पसमा २ हजार ६ सय ८१ मत खसेको हो ।
६ वटा संगठनले भाग लिएको यस क्याम्पसमा आजैबाट मतगणना गर्ने तयारी भएको स्ववियु निर्वाचन समितिका सदस्य सचिव प्राध्यापक खिमान्नद भण्डारीले बताएका छन् ।
यस क्याम्पसका पूर्व स्ववियु सभापति तथा एमाले नेता खिमलाल भटराई, नेपाली कांग्रेस नेता प्रजा पाल गिरीलगायतले निर्वाचनको अवलोकन गरेका थिए ।
प्रतिक्रिया