काठमाडौं । कोशी प्रदेश नामकरणको विरोधमा पहिचानवादीहरूले विराटनगरमा आज पनि प्रदर्शन जारी राखेका छन् । प्रदेश नंं १ पुनः नामकरण संयुक्त संघर्ष समितिको आयोजनामा प्रदर्शन गरेका हुन् ।
कार्यक्रममा गोपाल किराँती, कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, प्रेम एक्तेन, ज्ञानबहादुर राई, डकेन्द्रसिंह थेगिम, गेल्जे लामा शेर्पा, आङ्दावा शेर्पा, दिलराम राई, मिशेकहाङ थाम्सुहाङलगायत पहिचान पक्षधर नेताहरू पनि सहभागी रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङले भने विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरिपरि ३ सय मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म प्रशासनले निषेधित क्षेत्र तोकेको छ ।
यस्तै, नेकपा एमालेले संवैधानिक परिषद्सम्बन्धी विधेयक प्रधानमन्त्री आफैँले संसदमा प्रस्तुत गर्नका लागि रुलिङ माग गरेकाे छ । आइतवार बसेको प्रतिनिधि सभाको बैठकमा सरकारका तर्फबाट संवैधानिक परिषद्सम्बन्धी विधेयक पेस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा रोस्ट्रममा गएपछि एमाले सांसदहरूले विरोध गर्दै प्रधानमन्त्रीलाई नै विधेयक प्रस्तुत गर्न सभामुख देवराज घिमिरेसँग रुलिङ माग गरेका हुन् ।
नेकपा एमालेका सांसद रघुजी पन्तले संवैधानिक परिषद्सम्बन्धी विधेयक प्रधानमन्त्रीले प्रस्तुत गर्नुपर्ने र प्रधानमन्त्री संसदमा भएको बेलामा अन्य मन्त्रीलाई किन लगाइयो भन्ने औचित्य पुष्टि गर्न माग पनि गरे ।
उनले प्रधानमन्त्री हुँदाहुँदै अर्को मन्त्रीलाई पेस गर्न दिनु संसद्को गरिमालाई अवहेलना गर्नु रहेको पनि बताएका छन् । उनले सरकारले संसदमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ नदिएको भन्दै प्रधानमन्त्रीलाई यसबारेमा पनि जवाफ दिन सभामुखसमक्ष रुलिङ माग गरेका छन् ।
प्रतिक्रिया