काठमाडौँ । एमडीएसी स्पोर्ट्सले आइसिसी विश्वकपको ग्लोबल छनोटमा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सम्मान गरेको छ ।
ए डिभिजन लिगको मार्केटिङ कम्पनी समेत रहेको एमडीएसीले शनिबार दशरथ रंगशालामा राष्ट्रिय क्रिकेट टिमलाई सम्मान गरेको हो । ए डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लब र एपीएफ क्लबबीचको खेल दौरान अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लगायतले खेलाडीलाई सम्मान गरेका हुन् ।
विश्वकप क्रिकेट लिग टू मा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप छनोटमा सोझै छनोट भएको भन्दै क्रिकेट टिमलाई सम्मान गरिएको एमडीएसी स्पोर्ट्सले जनाएको छ । लिग टू अन्तर्गत टियु क्रिकेट मैदानमा भएको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा बिहीबार युएईलाई पराजित गर्दै नेपाल जिम्बावेमा आयोजना हुने विश्वकप छनोटमा सोझै छनोट भएको थियो ।
कस्तै, प्रथम रेडमग इण्डो-नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा विराटनगरमा सुरु भएको छ । शनिबारको पहिलो खेलमा विराटनगर क्रिकेट क्लव एण्ड एकेडेमी (विसिसिए) ले भारतीय टोलीविरुद्ध विजयी शुरुवात गरेको छ ।
प्रतियोगिताको चारवटा श्रृंखलाभित्र तीनवटा टि-२० र एउटा वान-डे खेलाइने तयारी छ । पूर्व तयारी र खेलाडी थकानका कारण १७ ओभरमा खेलाइएको पहिलो ‘टि-२०’ खेलमा विसिसिएले भारतको अल इण्डिया वुमन टि-२० क्रिकेट एसोसिएसनलाई फराकिलो स्कोरमा हराएको हो ।
नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर-६ स्थित मेलवर्न ज्वाला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको भारतले १७ ओभर पूरै खेल्दा ९ विकेट गुमाउँदै ६६ रनको स्कोर जोडेको थियो । भारतका लागि कप्तान रितु मोहन भोसलेले २० र दिक्षा सिंहले ११ रन जोड्ने बाहेक अरु ब्याटर खेलमा जम्न सकेनन् ।
विसिसिएका लागि अस्मिना कर्मचार्यले ४ ओभरमा १ मेडन राख्दै ३ विकेट लिएर भारतलाई पेभिजियन फर्काइन् । अस्मिना नै पहिलो खेलको ‘प्लेयर्स अफ दि म्याच’ घोषित भइन् ।
नेपाली टोलीकी कप्तान रुविना क्षेत्री, टिका साह, सवनम राई र कविता गौतमले समान १-१ विकेट लिए । ६७ रनको सामान्य लक्ष्यका लागि खेलेको विसिसिएले १० ओभरको समाप्तिमा मात्र एक विकेट व्यहोरेर जित निकालेको हो । नेपालका लागि राष्ट्रिय टिमकी विकेट किपर काजोल श्रेष्ठले ३७ रनमा अविजित खेलिन् ।
लक्ष्य भेट्याउन एक रन बाँकी हुँदा ओपनर सम्झना खड्का भारतकी मिनाक्षी कबदलबाट बोल्ड भइन् । सम्झनाले २१ रनसहित काजोलसँग ५९ बलमा ६६ रनको साझेदार गरिन् । त्यसपछि मैदान उत्रिएकी अप्सरी बेगमले १०औं ओभरको अन्तिम बल बोर्डरमा गुडाउँदै नेपाललाई जित दिलाएकी थिइन् ।
प्रतियोगिता चैत ७ गतेसम्म संचालन हुने नेपाल क्रिकेट फाउन्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले बताए । विसिसिएको कप्तानी नेपाली राष्ट्रिय टोलीकी समेत कप्तान रुबिना क्षेत्रीले सम्हालेकी छन् ।
राष्ट्रिय टोलीकै काजोल श्रेष्ठ, सबनम राई, अपसरी बेगम, कविता जोशी, अस्मिना कर्मचार्य, कविता गौतम, सम्झना खड्का, सरस्वती चौधरी तथा यु-१९ राष्ट्रिय टिमकी सानु राजवंशी लगायत विसिसिएका लागि खेल्दैछन् ।
प्रतिक्रिया