काठमाडौँ। बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारी माथि भइरहेको आक्रमण नरोकिए बैंकिङ सेवा नै सुचारु नहुने अवस्था आउन सक्ने बताएका छन् ।
बैंकका कर्मचारीमाथि हुने आक्रमण लगायतका अप्रिय घटना नरोकिए कर्मचारीको सुरक्षाका लागि बैंकिङ सेवा नै रोकिन सक्ने उनीहरुको चेतावनी छ ।
शुक्रबार चारवटै वर्गका बैंक तथा वित्तीय संस्थाहरुको छाता संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै बैंकका कर्मचारीमाथि भएको धरपकड, सांघातिक हमला, कार्यालयमा तालाबन्दी जस्ता घटनामा संलग्न दोषीहरुलाई यथाशीघ्र कारबाही गर्न माग गरेको छ ।
‘अग्रपंक्तिमा रही सेवा प्रदान गरेका कर्मचारीहरु माथि जाजरकोट, मकवानपुर, म्याग्दी, सुनसरी, उदयपुर, कपिलवस्तु, रुपन्देही, कास्की लगायतका क्षेत्रमा भएको धरपकड, सांघातिक हमला, कार्यालयमा तालाबन्दी प्रति हाम्रो घोर आपत्ती रहेको र घट्नामा संलग्न दोषीहरुलाई यथाशीघ्र हदैसम्मको कारवाहीको माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।
अराजक र उत्तेजित अभिव्यक्ति दिई यस प्रकारका घटनालाई प्रोत्साहन गर्ने नेतृत्व पंक्तिलाई समेत कानुनी दायरामा ल्याउन उनीहरुले माग गरेका छन् । कर्मचारीमाथि हुने सांघातिक हमला नरोकिएमा कर्मचारीहरुको सुरक्षा निम्ति बैंकिङ सेवा नै सुचारु हुन नसक्ने सम्भावना रहने उनीहरुले बताएका हुन् ।
बैंकिङ जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भइरहेको आक्रमणले समस्त बैंकिङ क्षेत्र नै चिन्तित र आतंकित बनेको बैंकरहरुले बताएका छन् ।
यस्तै, यसैसाता ग१ख ६ सय २८ नम्बरको बस नवलपुरका पर्यटक बोकेर चर्चित पर्यटकीय गन्तव्य ढोरपाटन पुग्यो । सडक समस्याका कारण यसअघि साना सवारीसाधन मात्रै चल्दै आएको ढोरपाटनमा पछिल्लो समय बसका कारण पर्यटकलाई सहज भएको छ । एक साताअघि मात्र पनि बागलुङ बजारबाट केही सञ्चारकर्मीसहित बोकेर बस ढोरपाटन गएको थियो ।
नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन क्षेत्र घुम्न पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो नै लाग्न थालेको छ । उनीहरुलाई ढोरपाटनमा बस पुग्न थालेपछि सहज भएको पर्यटकलाई घोडा सफारी गराउँदै आएका स्थानीय मिनलाल विकले बताए ।
सडक साँघुरो हुँदा साना सवारीसाधनमा थोरै पर्यटक पुग्ने गरेकामा पछिल्ला दिनमा सडकमा केही सुधार भएपछि पर्यटक आगमन सहज भएको हो ।
“पहिलाभन्दा सडकको केही सास्ती हटेको छ, जोखिमका बाबजुद ढोरपाटनमा अहिले बस आउन थालेका छन्, पहिला साना सवारीसाधन जिप तथा भ्यानमा थोरै पर्यटक आउँथे अहिले बस चल्न थालेपछि एकैपटक २५-३० जनाको समूह ढोरपाटन आउने गरेका छन्”, उनले भने ।
घोडा सफारीका लागि विक जस्ता दुई दर्जनभन्दा बढी स्थानीयले घोडा पालेर राखेका छन् । “पर्यटक बढ्न थालेपछि अहिले घोडा सफारीसमेत फस्टाउँदो छ, दैनिकजसो रु एक हजार कमाइ हुन थाल्यो, कहिले अलि धेरै नै हुन्छ, पछिल्लो समय घोडामा चढ्ने, तस्बिर खिच्ने र टिकटक बनाउनेले गर्दा राम्रो आम्दानी हुने गरेको छ”, उनी भन्छन् ।
पर्यटक नआउँदा भने घोडामा घरायसी सामग्री ओसारपसार गर्ने गरिएको छ । पछिल्लो समय बसमा ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको पाइएको ढोरपाटन घुम्न पुगेका पर्यटक अनन्तबहादुर खड्काले बताए ।
उनले आफू बागलुङबाट बसमा चढेर ढोरपाटन घुम्न आएको जनाउँदै पहिलाभन्दा ढोरपाटन पुग्ने सडक केही सहज भएको जनाए ।
“बर्खामा खोला बढ्छ, बुर्तिबाङबाट झन्डै ४० किलोमिटर सडक कच्ची छ, हिउँदमा बस चल्दोरहेछ, साना सवारीसाधनमा धेरै खर्च तिरेर ढोरपाटन पुग्नुभन्दा बसमा धेरै जना पुग्दा सस्तो पर्ने रहेछ”, खड्काले भने, “बस पुगेपछि ढोरपाटनमा धेरैको पहुँच पुग्नेछ । सडकको स्तरोन्नति गर्न भने बाँकी छ, ढोरपाटन–सालझन्डी सडक अप्ठ्यारो छ, अब भने पर्यटकको लागत घट्ने छ ।”
बागलुङबाट बुर्तिवाङसम्म पक्की र त्यहाँबाट ढोरपाटनसम्मको सडक कच्ची छ । कच्ची सडक भए पनि बस पुग्न थालेको सवारी चालक रमेश पौडेलले बताए ।
“म दोस्रो पटक बस ल्याएर पर्यटकसहित ढोरपाटन आए, बोबाङको भुजीखोला क्षेत्रमा केही सडक सुधार गर्न आवश्यक छ, तर देउरालीमा सडक चौडा बनाएका कारण बस मज्जाले उक्लियो”, चालक पौडेलले भने, “ठूला बस पुग्न ढोरपाटन मुस्किल छ, तर मिनीबस पुग्न थालेका छन्, हिउँदमा मात्रै बस पुगे पनि सडक स्तरोन्नतिसँगै बर्खामा समेत बस लैजाने व्यवस्था मिलाउन आवश्यक छ ।”
ढोरपाटन नगरपालिकाका उपप्रमुख कल्याण कायतले ढोरपाटन पुग्ने सडकमा केही सुधार भए पनि बर्खामा भने सास्ती नै भएको बताए । उनले सडकको मर्मतसम्भार नगरपालिकाले गर्दा अहिले बस पुग्ने अवस्था आए पनि सडक कालोपत्रका लागि सालझन्डी-ढोरपाटन सडक आयोजनाले कुनै चासो नदिएको बताए ।
“सडक स्तरोन्नति हुन सकेको छैन, तर देउराली क्षेत्रमा सडकको घुम्ती चौडा पार्ने काम भएकाले बस पुग्न थालेका हुन्, बर्खामा बस पुग्न मात्रै होइन साना सवारीसाधनसमेत पुग्न समस्या हुन्छ, सडक स्तरोन्नति भए ढोरपाटनमा थामी नसक्नु पर्यटक आउने हाम्रो कल्पना हो”, उनले भने, “सडक नै पहिलो प्राथमिकता हो, ठूलो आयोजनाले काम गर्दैन, मर्मतसम्भार गरेको सडकमा बस गुड्न थालेका हुन्, तर यात्रा सहज भने छैन, पक्की सडक पुगे ढोरपाटनमा पर्यटकको चाप हुनेछ ।”
प्रतिक्रिया