काठमाडौँ। चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले कृषि संकायका डिन प्रा. जयप्रकाश दत्तलाई निलम्बन गरेको छ ।
जुम बैठकमा उनले महिला कर्मचारीलाई अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएपछि निलम्बन गरिएको कृषि तथा वन विज्ञान विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयका उपकुलपति पुण्य रेग्मीले सामाजिक सञ्जालमा देखिएको विषयवस्तु सम्वेदनशील देखिएको हुँदा सत्यतथ्य छानबिनका लागि समिति पनि गठन गरिएको बताएका छन्। उनले छानविन समितिको प्रतिवेदन प्राप्त भई निर्णय नहुञ्जेलसम्मका लागि दत्त निलम्बनमा रहने बताए ।
कृषि संकायका ६३ जनाभन्दा बढी सहभागी भएको बैठकमा डीन दत्तले अडियो म्यूट गरेका थिए भने, उनको भिडियो अन नै थियो ।
दत्त कृषि संकायको डीनको ४ बर्षे पहिलो कार्यकाल पूरा गरेर अहिले थप ४ बर्षे दोस्रो कार्यकालका लागि २०७७ कात्तिकमा डिन नियुक्त भएका थिए ।
यस्तै, देशका विभिन्न स्थानबाट १४ जना लागुऔषधसहित पक्राउ परेका छन् । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-७ भुताहा र काभ्रेको सिमानाबाट अवैध लागुऔषध गाँजा करिब ७६ केजी ५ सय ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सर्लाही हरिवन नगरपालिका-२ बस्ने २३ वर्षीय प्रलात कुमार थोकर र सोही नगरपालिका-८ बस्ने ३३ वर्षीय देउकुमार स्याङ्तान रहेका छन् ।
प्रहरी चौकी क्यानेश्वरबाट खटिएको प्रहरीले क्यानसिरबाट भुताहातर्फ आउँदै गरेको प्र.०२-०३-०१८ प ८०६५ नम्बरको मोटरसाइकलबाट १ वटा बोरा र हाल नम्बर नखुलेको मोटरसाइकलमा ल्याएको १ वटा बोरा गरी दुवै बोराबाट उक्त परिमाणको लागुऔषध फेला परेको हो ।
प्रहरीले जाँच गर्ने क्रममा नम्बर नखुलेको मोटरसाइकलमा सवार दुई जनाले प्रहरी टोलीलाई देख्नासाथ उक्त गाँजाको बोरा फाली मोटरसाइकल सहित फरार भएका थिए ।
प्रहरीले प्र.०२-०३-०१८ प ८०६५ नम्बरको मोटरसाइकलमा सवार प्रलात कुमार थोकर र देउकुमार स्याङ्तानलाई पक्राउ गरेको छ भने हाल फरार नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिहरूको समेत खोजी गरिरहेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका-४ यातायात कार्यालय अगाडिबाट अवैध लागुऔषध ब्राउन सुगर २ ग्राम २ सय ५० मिलिग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-५ बस्ने ३० वर्षीय नरेश खड्का, ३० वर्षीय लक्ष्मण खड्का र सोही उपमहानगरपालिका-११ बस्ने ३० वर्षीय देवेन्द्र खड्का रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेकोजनाएको छ ।
यसैगरी कैलालीको टिकापुर नगरपालिका-१ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ६० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ राजीपुर बस्ने २४ वर्षीय आबिनाश चौधरी र २२ वर्षीय विक्रम चौधरी रहेका छन् ।
इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले बा-५४ प ४४८१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
पर्सा, वीरगन्ज महानगरपालिका-३१ मिलनचोकबाट अवैध लागुऔषध गाँजा २४ केजीसहित सोही महानगरपालिका-३२ टेढा बस्ने ५४ वर्षीय रमतुल्ला मिया सहित ४ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी मिलनचाेकबाट खटिएको प्रहरीले जितपुरबाट मनवातर्फ जाँदै गरेको ना-२ ह ३०८९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी, पर्सा, पटेर्वासुगौली गाउँपालिका-३ सोनवर्सा बस्ने ३८ वर्षीय जैनुल होदाको घरबाट अवैध लागुऔषध गाँजा २९ किलोग्रामसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा जैनुल र मकवानपुर लाउती गाउँपालिका-३ बस्ने ५० वर्षीय रामजी थिङ रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
उता, धरान उपमहानगरपालिका-१५ स्थित कोकोनट हाउसबाट अवैध लागुऔषध ब्राउन सुगर ३ सय मिलिग्राम, नियन्त्रित औषधि ट्रामाडोल ४० ट्याब्लेट, स्पास्पेइन ४० ट्याब्लेट र नगद ६० हजार ३ सय ५० रुपैयाँसहित सोही उपमहानगरपालिका-५ घर भई हाल सोही ठाउँ बस्ने २७ वर्षीय जेल्स राईलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई उक्त ब्राउन सुगरसहित फेला पारी पक्राउ गरेकोजनाइएको छ ।
प्रतिक्रिया