News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति

स्ववियु चुनावमा मतदानबाट वञ्चित गराइएको भन्दै रिट दायर

214
SHARES


काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदानबाट वञ्चित गराइएको भन्दै मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीहरुले उच्च अदालत सुर्खेतमा रिट दायर गरेका छन् ।

‘स्कुल अफ म्यानेजमेन्ट’ (मोसुम) मा अध्ययनरत ३ जना विद्यार्थीले मंगलबार विश्वविद्यालयलगायत ५ वटा कार्यालयलाई विपक्षी बनाएर उच्च अदालत सुर्खेतमा रिट दायर गरेका हुन् ।

मोसुममा अध्ययनरत विद्यार्थी भुवन बुढा, सुदीप महतारा र खेमु शाहीले मध्यपश्चिम विश्वविद्यालय, स्कुल अफ म्यानेजमेन्ट (मुसोम), स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समिति र केन्द्रीय विभागको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन अधिकृतको कार्यालय लगायत ५ वटा कार्यालयलाई विपक्षी बनाइ रिट दायर गरेका छन् ।

विद्यार्थीहरुले विश्वविद्यालयको नाममा रिट दायर गरेको उच्च अदालत सुर्खेतका सूचना अधिकारी सरोजनिधि वाग्लेलेबताए । ‘उहाँहरुले आज रिट दायर गर्नुभएको छ । भोलि एकल इजलासमा पेस हुन्छ’, उनले भने ।

मध्यपश्चिम विश्वविद्यालयमा ३ चैतमा स्ववियु निर्वाचन हुँदै छ । उक्त निर्वाचनमा मोसुममा करिब ४ सय विद्यार्थीहरूले भोट हाल्न नपाउने भएका छन् । मोसुममा अध्ययनरत विद्यार्थीको मतदान गर्न पाउने अधिकारलाई कुण्ठित गर्न खोजिएको उनीहरूको आरोप रहेको छ ।

उनीहरूले अन्तरिम आदेशसहितको उत्प्रेषणयुक्त परमादेश लगायत उपयुक्त आदेश जारी गरी पाउँ भनेर रिट निवेदन दायर गरेका हुन् ।

मुसोमको कार्यविधिमा मुसोमका प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुको हितका लागि प्राध्यापक हित समाज, कर्मचारी हित समाज र विद्यार्थी हित समाज गठन गर्ने व्यवस्था गरिएको छ । सोही अनुसार मुसोममा कुनैपनि राजनीतिक संघसंगठन र उनीहरुको प्रभाव नरहने व्यवस्था गरिएको छ ।

तर विश्वविद्यालयको संगठन तथा शैक्षिक प्रशासनिक नियमावलीमा विश्वविद्यालयका सम्पूर्ण विद्यार्थीहरु स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सदस्य हुने व्यवस्था गरिएको छ ।
सोही व्यवस्थामा टेकेर विद्यार्थीहरुले आफूहरुलाई मताधिकार दिनुपर्ने माग गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियन कुनैपनि राजनीतिक संगठन नभएकाले पनि आफूहरुले मत हाल्न पाउनुपर्ने मुसोमका विद्यार्थीहरुको तर्क छ ।

यस्तै, विद्यार्थी संगठन र क्याम्पस प्रशासनबीच विवाद चर्किंदा पोखराका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि उम्मेदवारी नै दर्ता हुन सकेको छैन । ५ चैतमा चुनावको मिति तोकिए पनि अहिलेसम्म उम्मेदवारी दर्ता नभएकाले निर्वाचन नहुने पक्काजस्तै भएको छ ।

सबैभन्दा चर्को विवाद पृथ्वीनारायण क्याम्पसमा रहको छ । १० हजारभन्दा बढी विद्यार्थी रहेको यो क्याम्पसमा तोकिएको समय २७ फागुनमा उम्मेदवारी दर्ता हुन सकेन, विवाद अदालतसम्म पुगेको छ र निर्वाचन समितिका पदाधिकारीले राजीनामा दिएका छन् ।

उम्मेदवारी दर्ता अगावै निर्वाचन समितिले विद्यार्थीको व्यक्तिगत विवरण बाहिरिएको भन्दै प्रमुख विद्यार्थी संगठनले तालाबन्दी गरेपछि उम्मेदवारी दर्ता हुन नसकेको हो । २५ फागुनमा पृथ्वीनारायण क्याम्पसमा विद्यार्थीको विस्तृत जानकारीसहितको विववरण सार्वजनिक भएको थियो ।

‘एउटा सचिन पौडेल भन्नेले विद्यार्थी समूहको भाइले फोन गरेर भन्नुभयो, यदि त्यसो हो भने प्रमाणसहित हामीलाई पेश गर्नुस् है, त्यसपछि तत्कालै अगाडि बढाउँछौं भनेका थियौं,’ निर्वाचन समितिका सदस्य सचिव बोधराज ढकालले भने ।

यस विषयमा विद्यार्थी संगठन एकले अर्कालाई देखाउँदै पन्छिन खोज्छन् । निर्वाचन समितिलाई विद्यार्थीको विववरण बाहिर आएको जानकारी दिने सचिन पौडेलले भने, ‘होलीको भोलिपल्ट विद्यार्थी संगठनका साथीहरु बसिराखेका थियौं । त्यहीबेला अखिल क्रान्तिकारी (माओवादी)का साथीले फोन गर्नुभयो, डाटा लिक भयो भनेर भन्नुभयो, विद्यार्थीको फोन नम्बरसहित देखाउनुभयो ।’

अखिल क्रान्तिकारीका पीएनका अध्यक्ष काशिराम पौडेलले भने आफूलाई एकजना बहिनीले दिएको भन्दै प्रश्नबाट पन्छिए । ‘समस्या त्यो बैनीसँग होइन, न्याय त प्रशासनसँग माग्नुपर्‍यो नि !’ उनले भने ।

विद्यार्थीको व्यक्तिगत विवरण बाहिर ल्याएको विषयमा धम्की आएको भन्दै निर्वाचन समितिले राजीनामा दिइसकेको छ ।
‘निर्वाचन प्रक्रियामा जो साथीहरु भाग लिन खोज्दै हुनुहुन्छ, उहाँहरुले हामीसँग अलिकति अव्यवहारिक, असहज तरिकाले प्रस्तुत हुनुभयो’, निर्वाचन समितिका सदस्य सचिव बोधराज ढकालले भने ।

उनले अनेरास्ववियुले आफूलाई आक्रमणको धम्कीसमेत दिएको दाबी गरेका छन् । अनेरास्ववियु पीएन क्याम्पस अध्यक्ष विष्णु पोखरेलले अनेरास्ववियु नाममा एउटा संगठन दर्ता भइसकेपछि मिल्दोजुल्दो नाम राखेको विषयमा सोध्दा धम्की दिएको भनेर अफवाह फैलाइएको टिप्पणी पनि गरे ।

‘मनमुटाव भन्दिनँ । केही विवाद सिर्जना भएको स्वीकार्छु । तर, अन्य गतिविधि भएको होइन, प्रश्नमात्रै सोधेको हो,’ उनले भने । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीको विद्यार्थी संगठनले पनि अनेरास्ववियू नै नाम राखेको छ । यही विषयमा एमालेको अनेरास्ववियुले विवाद गरेको हो ।

पीएन क्याम्पसमै विद्यार्थीले आफूहरुले एउटा नाममा दर्ता गरेको समूहलाई अर्कै नाम राखिदिएको भन्दै उच्च अदालतमा रिट दिएका छन् । सोही रिटमाथि न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासले क्याम्पसमा स्ववियू निर्वाचनका कुनै गतिविधि नगर्न अल्पकालीन आदेश दिएको छ ।

क्याम्पसमा दिप्सन गुरुङ, विप्लवी न्यौपानेलगायत विद्यार्थीले ‘स्वतन्त्र विद्यार्थी समूह’ बनाएर संगठन दर्ता गराएका थिए । निर्वाचन अधिकृतको कार्यालयले नाम परिवर्तन गरेर गुरुङ-न्यौपानेलगायतले दर्ता गराएको संगठनको नाम पृथ्वी विद्यार्थी मञ्च राखिदिएको थियो ।

त्यसपछि पुरानै नाम कायम गरिदिन माग गर्दै विप्लवी न्यौपानेले क्याम्पसलाई विपक्षी बनाएर उच्च अदालतमा २६ फागुनमा रिट दिएकी थिइन् ।

पृथ्वीनारायण क्याम्पसमात्रै होइन, पोखराका अन्य आंगिक क्याम्पसमा पनि विवाद बढ्दा स्ववियु उम्मेदवारी दर्ता हुन सकेको छैन । पोखरा वन विज्ञान क्याम्पस, संस्कृत क्याम्पसमा उम्मेदवारी दर्ता नै हुन सकेको छैन । जनप्रिय क्याम्पसमा पनि विद्यार्थीको भर्नाबारे विवाद बढ्दा निर्वाचन प्रक्रिया नै अगाडि बढ्न सकेको छैन ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया