काठमाडौँ। नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले संघीय तहमा कानूनहरु बनाउँदा प्रदेश र स्थानीय तहलाई पनि संलग्न गराउनुपर्ने बताएका छन् ।
सोमबार नेपाल नगरपालिका संघको ३० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पौडेलले संघीय तहमा कानूनहरु बनाउँदा प्रदेश र स्थानीय तहको पनि संलग्नता हुनुपर्ने बताएका हुन् ।
उनले स्थानीय तहको सिफारिसको आधारमा संघीय सरकारले बजेट विनियोजन गर्नुपर्ने पनि बताए । तिन तहको सरकारबीच समन्वयको अभाव भएको भन्दै एक-आपसमा समन्वय गरेर काम गर्नुपर्ने उनको भनाइ रहेको छ ।
संघीय सरकारले प्रदेश सरकार र स्थानीय सरकारलाई आफ्नो इकाइको रुपमा हेर्ने गरेको भन्दै उनले संघ सरकारले संविधानले प्रदान गरेका अधिकारहरु नै बिर्सिएको बताए ।
उनले भने, ‘समन्वयको सन्दर्भमा संघीय तहका नेताले, अथवा संघीय सरकारले तल कसरी हेर्छ भने यो युनिट हो हामी मातहतको। हाम्रा कारिन्दाहरु हुन् ।
संविधानले यिनीहरुलाई स्वतन्त्र, छुट्टै सरकारको रुपमा परिभाषित गरेको छ भन्नेकुरा व्यवहारमा बिर्सिएको स्थिति छ। सहअस्तित्व स्वीकार नगर्ने स्थिति भइसकेपछि समन्वय हुन गाह्रो हुन्छ ।
राष्ट्रपतिको सवारी राजाको जस्तो भयो भनेजस्तै कानूनमा धेरैकुरा परिवर्तन भयो तर व्यवहारमा त्यो ढंगबाट अनुभुति गराउने गरी व्यवहार गरिएको स्थिति भएन । त्यसकारण संघीय तहमा कानूनहरु निर्माण गर्ने सम्बन्धमा स्थानीय तह अथवा प्रदेश तहको पनि संलग्नता गराइनुपर्छ ।
विकास बजेटकै सन्दर्भमा पनि संघीय सरकारले विकास बजेट विनियोजन गर्ने सन्दर्भमा स्थानीय तहले आवश्यकतालाई राम्ररी बुझेको हुन्छ ।
कहाँ के योजना आवश्यक छ भन्ने कुरा संघको चस्माले हेर्नु भन्दा स्थानीय तहको चस्माले हेर्नु उपयुक्त हुन्छ। स्थानीय तहको सिफारिसको आधारमा संघले लगानी गर्ने परिस्थिति बन्नुपर्छ ।
विकास योजनामा संघले स्थानीय तहको सिफारिसलाई आधार बनाउनुपर्छ। कानून निर्माणको सम्बन्धमा पनि स्थानीय तहको अनुभवलाई आधार बनाएर सुझाव लिने परिस्थिति हुनुपर्छ ।
अनि हाम्रो कानूनले साझा अधिकार दिएको छ । साझा भनेको सबै तहको बराबर अधिकार हुने। जब एउटा काम तिनै तहले मिलेर गर्नुपर्छ भने त्यहाँ समन्वय हुन सकेन भने त्यो काम कसरी हुनसक्छ ?’
उनले तीन तहको सरकारले गर्ने सेवा प्रवाहको सम्बन्धमा जनतामा प्रश्न उठेको बताए। सेवाहरु सर्वसुलभ हुन नसकेको, सुशासन कायम हुन नसकेको लगायतका समस्या तीन वटै तहको सरकारमा रहेको उनले बताए ।
यस्तै, पशुपतिनाथ मन्दिर क्षेत्रमा मंगलवार (भोलि) देखि वत्सलेश्वरी-बज्रेश्वरी (दुरुच्याँच्याँ) जात्रा सुरु हुने भएको छ । पशुपति क्षेत्र विकास कोषले सोमबार पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो ।
कोषले भोलि साँझ ५ बजेबाट जात्रा प्रारम्भ हुने र पशुपतिनाथ क्षेत्रमा ११ दिनसम्म जात्रा जारी रहने बतायो । चैत्र कृष्णाष्टमी/शीतला अष्टमीमा सुरु भई चैत्र शुक्ल तृतीयामा सम्पन्न हुने यो जात्रा साझा जात्राको रुपमा मनाउने गरिन्छ ।
यो जात्रा लिच्छवीकालदेखि नै मनाउने गरिएको मान्यता छ । यो जात्रा पशुपतिनाथ मन्दिर परिसरबाट लगनलाक्षी र भुवनेश्वरी हुँदै भकुनटोल पुग्दा भुवनेश्वरीका गुठियार कर्माचार्यले निमन्त्रणा जात्रामा चढाउने पूजा भोग अर्पण गर्ने गर्दछन् ।
यात्रा अवधिभर बाटोमा चिराग बाल्ने तथा बाटोमा पर्ने देवीदेवताहरुलाई धूप बालेर पूजा गर्ने गरिन्छ । बालकुमारी, इँटापाखा र जयवागेश्वरी मन्दिरलाई दायाँ पारेर नवारीटोल, भगवती, भगवतीवहाल भण्डारेश्वर महादेवको प्रदक्षिणा गरिन्छ ।
नक्शाल भगवती, भगवतीवहाल, नक्शाल चारढुंगे, नागपोखरी, हात्तीसार, लालदरबार पूर्वको गल्ली र तीनधारा पाठशाला हुँदै कमलाक्षी पुग्ने परम्परा रहेको छ ।
कमलाक्षीबाट असन अन्नपूर्ण मन्दिर परिक्रमा गराइ बालकुमारी, इन्द्रचोक, मखन, हनुमानढोका, मजिपाट र चिंकमुगल हुँदै जैशीदेवल लैजाने परम्परा रहेको छ ।
प्रतिक्रिया