काठमाडौँ । नेकपा एमालेले संसदीय दलको उपनेतामा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मनोनीत गरेको छ । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले नेम्वाङलाई दलको उपनेता चयन गरेका हुन् ।
‘उपरोक्त सम्बन्धमा, तपाईँलाई नेकपा एमाले संघीय संसदीय दलको उपनेतामा मनोनयन गरेको छु । तदनुरूप यस पदको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुहुनेछ भन्ने विश्वास लिएको छु’, ओलीद्वारा हस्ताक्षरित नियुक्ति पत्रमा भनिएको छ ।
यसअघि नेम्वाङ फागुन २५ मा भएको राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार रहेका थिए । सो निर्वाचनमा रामचन्द्र पौडेलसँग पराजित भएका नेम्वाङलाई ओलीले लगत्तै उपनेतामा मनोनीत गरेका हुन् ।
यस्तै, निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी शीतलनिवासबाट बिदा भएकी छिन् ।
लगातार दुई कार्यकाल पूरा गरी निवर्तमान राष्ट्रपति भण्डारीलाई नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले बिदाइ गरेका छन् ।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । दिउँसो १ बजे शीतलनिवासमा आयोजित विशेष समारोहबीच पौडेलले शपथ लिएका हुन् ।
प्रधानन्यायाधीश नभएकाले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका हरिकृष्ण कार्कीले राष्ट्रपति पौडेललाई शपथग्रहण गराएका हुन् । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया