काठमाडौँ। उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर सहयोगका लागि आग्रह गरेका छन् ।
सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका यादवले आज (सोमबार) प्रधानमन्त्रीको कार्यालय सिंहदरबार पुगेर प्रधानमन्त्री प्रचण्डसँग निर्वाचनमा सहयोगका लागि आग्रह गरेका हुन् । भेटमा प्रधानमन्त्री प्रचण्डले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
यस्तै, उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई पनि आज भेट गरी मत मागे ।
उनी आज (सोमबार) अध्यक्ष नेपालको निवास पुगेर नेपाल र उनको दलसँग उपराष्ट्रपति पदका लागि आफूलाई मत मागेका हुन् ।
त्यस अवसरमा यादवको साथमा रहेका सांसद प्रदीपकुमार यादवले भने,“रामसहायजीसहित हामीले एकीकृत समाजवादीका नेता माधव नेपाललाई भेटेर मत मागेका छौँ, अब प्रधानमन्त्रीजीसँग पनि मत माग्न जाँदैछौँ ।”
उपराष्ट्रपतिका उम्मेदवार यादवले आजै अन्य राजनीतिक दलका नेता तथा सांसदसँग भेटेर मत माग्ने कार्यक्रम रहेको बताए ।
आफू गठबन्धनको साझा उम्मेदवार भएकाले सत्ता गठबन्धनमा सहभागी सबै दलको आफूलाई सहयोग रहने उनले बताए ।
प्रतिक्रिया