काठमाडौँ । जसपा नेपालका मधेस प्रदेश अध्यक्ष रामबाबु यादवले निर्वाचन आयोगले कानुन र संविधान भन्दा माथि आफूलाई राखेर हिँड्न खोजेको आरोप लगाएका छन् ।
यादवले साना दलमाथि प्रहार गर्दा विरोध नगर्ने प्रवृत्तिले आयोगको मनोबल बढ्दै गएर आफूलाई कानुन र संविधान भन्दा माथि राख्न थालेको बताएका हुन् ।
अध्यक्ष यादवले रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भइसक्दा सम्म सांसद पद कायम रहने तर स्थानीय तह निर्वाचनमा वडा सदस्यको उम्मेदवारले सार्वजनिक तथा सरकारी सेवामा तत्काल राजीनामा दिनुपर्ने व्यवस्था गलत भएको बताए ।
‘एउटै नियम राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूलाई लागु नहुने वडा सदस्य, वडाध्यक्ष र सांसदहरूलाई पेलेर लागु गर्न खोज्नु निर्वाचन आयोगले संविधान र कानुन भन्दा माथि हिँड्न खोजेको प्रस्ट हुन्छ’ उनक्ले भने ।
उनले रामसहाय यादव गठबन्धनको तर्फबाट उपराष्ट्रपति उम्मेदवार भएकोले बारा निर्वाचन क्षेत्र नं २ मा जसपा केन्द्रीय अध्यक्ष उपेन्द्र यादव निर्वाचन लड्ने पक्का भएको बताएका छन् ।
‘उहाँको लागि स्वागत गर्न हामी आतुर छौ, मङ्सिर ४ गतेको निर्वाचनमा बाराबाट चुनाव लड्न हामीले अनुरोध गरेका थियौँ तर त्यो बेला सप्तरीका साथीहरुले छोडेनन्,’ यादवले भने ।
यस्तै, जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफल रहेको बताए । उनले आफ्नो फेसबुकमार्फत सो कुरा बताएका हुन् ।
उनले भने, ‘राष्ट्रपति विद्या देवी भण्डारीज्यू सात वर्ष राष्ट्रियअध्यक्षको जिम्मेवारी बहन गरेर आज बिदा हुँदै हुनुहुन्छ। पछिल्लो समयमा नागरिकता विधेयक सम्बन्धी हाम्रो केही असहमति रहे तापनि उहाँले सफलता, जिम्मेवारी र सदाशयतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गर्नुभएको छ।’
नागरिकता विधेयक पारित नगर्दा जनमत पार्टीका कार्यकर्ताले राष्ट्रपति भण्डारीको पुतला पटकपटक जलाएका छन् । उनको विरोधमा नारा जुलुस पनि गरेका थिए । आज जनमत पार्टीका अध्यक्ष राउतले राष्ट्रपति भण्डारीको कार्यकाल सफल रहेको भनि प्रसंशा गरेका छन् ।
प्रतिक्रिया