काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले एक दिवसीय मान्यता जोगिएपछि आगामी दिनमा बलियो टोलीसँग थप क्रिकेट खेल्ने मौका पाउने बताए ।
भ्रमणकारी टोली युएईविरुद्ध आइतबार १ सय ७७ रनको फराकिलो जित निकालेपछिको पत्रकार सम्मेलनमा बोल्दै कप्तान रोहितले एक दिवसीय मान्यतपछि नेपालले बलियो टोलीसँग खेल्दै थप अनुभव बटुल्ने मौका मिल्ने बताएका हुन् ।
उनले विश्वकप छनोट पुग्नका लागि थप २ खेलमा सुखद् नतिजा निकै महत्वपूर्ण रहेको भन्दै ती खेलमा पनि केन्द्रित हुने प्रतिक्रिया दिएका छन् ।
टोलीमा नयाँ प्रशिक्षक मोन्टी देशाई आएसँगै खेलाडीलाई खुलेर खेल्ने अवसर भएको सोही अनुसार सबै खेलाडीले मिहिनेतका साथ खेल्दा सफलता मिलेको कप्तानको भनाइ छ ।
एक दिवसीय मान्यता कायम भएसँगै नेपाली क्रिकेट थप व्यस्त हुने र धेरै भन्दा धेरै खेलाडीले मौका पाउने पनि उनले बताए ।
यस्तै नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाईले नेपाल क्रिकेट संघसँग जोडिएको दिनदेखि टोली बनाउन लागेको र अहिले सम्मको यात्रा सुखद् भएकोमा अहिले आफु खुशी रहेको पनि बताए ।
प्रतिक्रिया