घरमा गरेको बेतलबी घरेलु कामको क्षतिपूर्तिको रूपमा स्पेनको एउटा अदालतले हालै मालागाका एक व्यापारीलाई आफ्नी पूर्व पत्नीलाई २,०४,००० युरो (२ करोडभन्दा बढी रुपैयाँ ) दिन निर्देशन दिएको छ ।
अडिटी सेन्ट्रलका एक महिला जसले पछिल्लो २५ वर्षदेखि आफ्ना व्यापारी श्रीमान् र दुई छोरीहरूको रेखदेखमा बिताइन्, उनले आफ्ना सबै बेतलबी कामको क्षतिपूर्ति पाएकी छिन् ।
जोडीले आफू २० वर्षको आसपास हुँदा सन् १९९५ जुन महिनामा विवाह गरेका थिए र त्यसको अर्को महिनामै सम्पत्तिको विभाजनमा हस्ताक्षर गरे । उक्त डकुमेन्टमा पति–पत्नीले विवाहको समयमा प्राप्त गरेको सम्पत्तिको विशेष स्वामित्व राख्ने लेखिएको थियो ।
यो सम्झौता श्रीमानका लागि बढी फाइदाजनक भयो । श्रीमानले त्यो समयमा एकभन्दा बढी व्यवसाय सुरु गरिसकेका थिए भने श्रीमती भने घरको काम गर्न, दुई छोरीहरू हुर्काउनमा नै व्यस्त भइन् ।
‘उनी श्रीमानको छाया थिइन् । श्रीमान् व्यावसायिक रूपमा सफल होउन् भनेर उनले घरको सबै कामको बोझ आफ्नो काँधमा उठाइन्,’ महिलाकी वकिलले अदालतसमक्ष भनिन् । ‘उनले आफ्नो सबै समय परिवारमा खर्चिन् । श्रीमानलाई व्यावसायिक सफलता दिलाउन छोरीसँगै बसिन् र घरमा सहयोग भनेर कसैलाई पनि राखिनन् ।’
तर १६ वर्षे छोरीको उच्च शिक्षाका लागि आफूले खर्च गर्न सक्दिनँ भन्दै छोरीलाई काम गर्न बाध्य पारेपछि भने श्रीमती रिसाइन् । त्यसपछि उनले सन् २०२० मा सम्बन्ध विच्छेदका लागि निवेदन दिइन् । सम्पत्ति विभाजनमा हस्ताक्षर गरेका कारण श्रीमानले घरको लगभग सबैजसो मूल्यवान् सामग्रीको अधिकार पाए जबकि उनकी श्रीमतीले भने घरको आधा हक मात्रै पाइन् ।
नाफामुखी जैतुनको तेल फार्म, विलासी कार र अन्य घर जग्गा श्रीमानको भागमा परेको र आफ्नो भने २५ वर्ष वैवाहिक सम्बन्धमा रहँदा त्यति धेरै दुःख गर्दा पनि हात लाग्यो शून्य भएपछि सन् २०२० डिसेम्बरमा क्षतिपूर्तिका लागि दाबी गर्ने निर्णय गरिन् ।
‘अन्य महिला झैँ, उनले आफ्नो सबै समय छोरी र घरका लागि खर्च गरिन् जबकि उनका श्रीमानलाई भने व्यावसायिक करियर सुधार्न पर्याप्त समय प्राप्त भयो,’ वकिल मार्टा फ्युन्टेसले भनिन् । ‘ र महिलाहरूले आफ्नो व्यावसायिक जीवनलाई भन्दा परिवारलाई दिएको महत्त्वलाई उच्च कदरका साथ सम्मान गर्नुपर्छ ।’
२ वर्षसम्म चलेको मुद्दामा मालागाका न्यायाधिसले श्रीमतीलाई २५ वर्षसम्म घरमा काम गरेबापत २०४,००० युरो क्षतिपूर्ति दिन निर्देशन दिएको हो । यसका साथै, दुई छोरीलाई प्रत्येक महिना हजार युरो र उनीहरूकी आमालाई ५ सय युरो पेन्सन स्वरूप दिन पनि निर्देशन दिइयो ।
प्रतिक्रिया