रौतहट। रौतहट जिल्ला राजदेव र मौलापुर नगरपालिकामा भएको कुटपिट र चक्कु प्रहारबाट दुई जनाको मृत्यु भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेरअनुसन्धान थालेको जनाएको छ ।
राजदेवी नगरपालिका-१ पथरा टोलका २५ वर्षीय गजेन्द्र दासको कुटपिटबाट मृत्यु भएको प्रहरीले जानेको छ । त्यस्तै जिल्लाको मौलापुर नगरपालिकाको पथराबुधरामका ४१ वर्षीय नरेश महतोको चक्कु प्रहारबाट मृत्यु भएको छ ।
पथराबुधराम टोलमा यही बिहीबार दिउँसो मदिरा सेवन गरेर स्थानीय सञ्जय महतो र नरेशबीच विवाद भएको थियो । विवादबीच सञ्जयले नरेशमाथि चक्कु प्रहार गरेका थिए ।
चक्कु प्रहारबाट गम्भीर घाइते नरेशको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि थप उपचारका लागि वीरंगन्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ । ढिलागरी सूचना प्राप्त भएको भन्दै प्रहरीले दुवै घटना अहिलेसम्म सार्वजनिक गरेको छैन ।
मौलापुर घटनामा संलग्न रहेको आरोपमा आरोपित सञ्जयसहित ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए ।
‘हामीलाई घटनाबारे पीडितले ढिला गरी जानकारी गराएकाले समस्या भएको हो,’ उनले भने, ‘राजदेवीको कुटपिटको घटनामा ढिला गरी सूचना दिएकाले कोही पक्राउ परेको छैन् ।
हामी चाँडै संलग्नलाई पक्रेर कारबाही गर्छौं । मौलापुरको घटनामा केही मानिस पक्राउ परिसकेका छन् ।’ जिल्ला प्रहरीमा मौलापुर र राजदेवी घटनाका किटानी जाहेरी परिसकेको जनायो ।
राजदेवी घटनामा मृतक परिवारका अनुसार गएको बुधबार होलीको दिन स्थानीय गणेश यादव सहितका तीन जनाको समूहले गजेन्द्र दासलाई कुटपिट गरेका थिए । घटनापछि यादव सहितका समूह फरार छन् ।
कुटपिटबाट सख्त घाइते दासको यही बिहीबार साँझ मृत्यु भएको प्रहरीले जनायो । दासको घरमै मृत्यु भएपछि मात्र प्रहरीलाई खबर गरेका थिए । एसपी बुढा मगरका अनुसार दासको घरमै मृत्यु भएपछि मात्र प्रहरीकहाँ खबर आयो । त्यसपछि प्रहरी पुगेर अनुसन्धानको क्रममा सोधपुछ थालेको हो ।
यस्तै, कैलालीमा एक जना मृत फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–७ लालपुरमा एक जनाको शव फेला परेको हो ।
लक्ष्मी सामुदायिक वनमा करिब ६० वर्षीय पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ।
शनिबार बिहान जंगलमा घाँस काट्न गएका बेला शव देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान हुन सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया