काठमाडौं । नेकपा माओवादी केन्द्र महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने पक्षमा रहेको छ ।
निर्वाचन आयोगले राष्ट्रपतिमा पुरुष र खसआर्य समुदायका रामचन्द्र पौडेल निर्वाचित भएकाले योभन्दा फरक लिंग वा समुदायको व्यक्ति उपराष्ट्रपति पदको उम्मेदवार हुनसक्ने भनी विज्ञप्ति निकालेको छ ।
यस्तै, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएकी छिन् ।
शुक्रबार बिहान नागरिक उन्मुक्ति पार्टीले पार्टीकी अध्यक्ष एवं संसदीय दलको नेता समेत रहेकी रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने बताएको थियो ।
कानुनी व्यवस्थाका कारण उपराष्ट्रपति बन्न उनको उमेर नपुगेको हो । राष्टपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐन, २०७४ मा राष्ट्रपति तथा उपराष्ट्रपति बन्नका लागि ४५ वर्ष उमेर पूरा गरेको हुनुपर्ने प्रावधान रहेको छ ।
आयोगमा उनले पेश गरेको विवरणमा भने उनको उमेर ३९ वर्षमात्र भएकोले उनी उम्मेदवार बन्न सक्ने छैनन् ।
यसबारे सत्ता साझेदार दलहरुको साझा धारणा आइसकेको छैन । तर, माओवादी केन्द्रले पुरुष राष्ट्रपति भएकाले महिला उपराष्ट्रपति हुँदा राम्रो हुने बताएको छ ।
‘संविधानमा फरक लिंग वा समुदाय भनिएतापनि अभ्यासमा राष्ट्रपति र उपराष्ट्रपतिमा महिला र पुरुष गराउने अध्यास गर्दै आएका छौं । अभ्यासलाई फलो गर्दा राम्रो हुन्छ’ माओवादी केन्द्रका महासचिव देव गुरुङले भने ।
महासचिव गुरुङले उपराष्ट्रपति कसले लिने भनेर गठबन्धनमा रहेका दलहरुका बीचमा औपचारिक सहमति समेत नभएको बताएका छन् । ‘जसपाले पनि उपराष्ट्रपतिमा आफ्नो मागदाबी प्रस्तुत गरेको छ’, गुरुङले भने ।
प्रतिक्रिया