काठमाडौँ । मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित पूर्वसभामुख रामचन्द्र पौडेलको बोहोराटारस्थित निवासमा बधाई तथा शुभकामना दिनेहरूको भीड लागेको छ ।
राष्ट्रपति पौडेललाई बधाई दिन उल्लेख्य सङ्ख्यामा आफन्त, नेता कार्यकर्ता एवं शुभेच्छुकहरूको भीड लागेको हो । राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेल सङ्घीय संसद् भवनबाट निवास बोहोराटार पुगेका थिए ।
पौडेल निवास पुग्नासाथ बटुकहरूले स्वस्ति वाचन गरेर स्वागत गरेका थिए । घरपरिवार आफन्तले सगुनका साथ फूलमाला, खादा र अबिर लगाएर बधाई दिँदै खुसी साटेका थिए ।
निवास परिसरमा जम्मा भएको भीडले पौडेल निवास उल्लासमय बनेको छ । रङ्गीचङ्गी बत्तीको झिलिमिलीले पौडेलको घर सिँगारिएको छ ।
बधाई दिने र आपसमा खुसी साट्नेहरूको चहलपहलले बेग्लै रौनक थपेको छ । उपस्थित अधिकांश फोटो र सेल्फी लिन भ्याइनभ्याइ देखिन्थे ।
राष्ट्रपति पौडेल निवासमा आज राति अबेरसम्म बधाई तथा शुभकामना दिने र खुसी आदनप्रदान चल्ने जनाइएको छ । निवासमा नेता कार्यकर्ता र आफन्तको भीड छ ।
जिल्लावासीहरूको पनि उत्तिकै बाक्लो उपस्थिति रहेको छ । उपस्थित अधिकांशले ‘रामचन्द्र पौडेल जिन्दावाद’ को नारा समेत लगाएका थिए ।
प्रतिक्रिया