• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    राजनीतिमा लागेको ६ दशकपछि मुलुकको सर्वोच्च पदमा पुगे रामचन्द्र ! यस्तो छ उनको संघर्षको यात्रा

    610
    SHARES


    काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएका छन्। ७८ वर्षका पौडेल बिहीबार भएको चुनावबाट नेपालको तेस्रो राष्ट्रपति निर्वाचित भएका हुन्।

    कलिलै उमेरमा २०१७ सालमा राजनीतिमा लागेका रामचन्द्र ६ दशक लामो राजनीतिपछि मुलुकको सर्वोच्च पदमा पुगेका हुन्।

    उनी गत मंसिर ४ मा भएको निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। पौडेल राष्ट्रपति निर्वाचित भएसँगै उनले सक्रिय राजनीतिबाट बिदा लिनुपर्नेछ र उनको क्षेत्रमा ६ महिनाभित्र उपनिर्वाचन हुनेछ।

    पौडेलले एक पटक कार्यकारी (प्रधानमन्त्री) नै बनेर देश चलाउन चाहेको बताइरहेका थिए तर तत्काल सम्भव हुने नदेखेपछि उनी राष्ट्रपतितर्फ मोडिएका हुन्।

    गत फागुन १२ गते कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्ने निर्णय गरेका थिए। जुन बेलासम्म कांग्रेसले उम्मेदवार तय गरेको थिएन। अरू ७ दलको समर्थन जुटाएको भोलिपल्ट (फागुन १३ गते) कांग्रेसले सर्वसम्मत रूपमा पौडेललाई राष्ट्रपति उम्मेदवार बनाएको थियो।

    पौडेलको विगत संघर्षपूर्ण छ। उनले राजनीतिमा जति अवसर पाए, त्यति नै हन्डर पनि खाएका छन्। सुशील कोइरालाको निधनपछि उनी छोटो समय कांग्रेस कार्यवाहक सभापति भए, उनकै नेतृत्वमा १३ औं महाधिवेशन भयो तर पौडेल सभापति पदमा देउवासँग हारे।

    देउवाले कांग्रेसलाई सही ढंगले चलाउन नसक्ने भएकाले उनलाई फेरि सभापति बनाउनु हुन्न भनेर १३ औं महाधिवेशनपछि पौडेलले निरन्तर बोले। कांग्रेसमा देउवाविरोधी पक्षको नेतृत्व गरे। तर १४ औं महाधिवेशनमा संस्थापनइतर समूहबाट उनी सर्वसम्मत उम्मेदवार हुने अवस्था भएन।

    पौडेलले आफूलाई सर्वसम्मत उम्मेदवार भने। अरू नेतालाई उम्मेदवार मान्न उनी तयार भएनन्। आफ्नो समूहबाट अर्को उम्मेदवारलाई समर्थन गरेर देउवालाई हराउनुभन्दा पौडेलले मौन बसेर उनैलाई सहयोग गरेको आरोप लाग्यो।

    १४ औं महाधिवेशनमा पौडेल केही समय काठमाडौंको बोहराटारस्थित निवासमै बसे। भेटघाटका लागि पनि उनको निवासमा नेता, कार्यकर्ता पातलिँदै गएका थिए। त्यसबेला अब पौडेल सक्रिय राजनीतिमा फर्किंदैनन्, निस्क्रिय रहन्छन् भन्ने अनुमान थियो।

    तर सभापति देउवाले उनलाई गठबन्धनका बैठकमा सहभागी गराउन थाले र समन्वय गर्ने जिम्मेवारीसमेत दिए। यसपछि पौडेल राजनीतिमा थप सक्रिय भए। तत्कालीन पाँच दलीय गठबन्धनलाई बलियो बनाउन पौडेलले पनि भूमिका खेले।

    पौडेल जेलनेल भोगेर यो ठाउँसम्म आइपुगेका नेता हुन्। उनी २००१ असोज २९ गते शनिबार तनहुँको मिर्लुङस्थित बाहुन पोखरामा जन्मिएका हुन्। उनका बाबु दुर्गाप्रसाद र आमा ऋषिमाया हुन्। मध्यमवर्गीय किसान परिवारका पौडेल १५ वर्षकै उमेरदेखि राजनीतिमा लागे।

    २०१६ सालमा हिमालयन छात्र संघ पोखरामा स्थापना हुँदा उनी आवद्ध थिए। एक वर्षपछि विन्ध्यवासिनी पाठशालामा पढ्दै गर्दा उनी नेपाल संस्कृत छात्र संघको काठमाडौं अधिवेशनमा प्रतिनिधि थिए।

    २०१७ पुस १ मा जननिर्वाचित संसद भंग गरी तत्कालीन राजा महेन्द्रले प्रधानमन्त्री बिपी कोइराला लगायतलाई जेलमा राखेका थिए। राजाको यो कदमविरूद्ध आफू ‘आगो ओकल्दै राजनीतिमा होमिएको’ पौडेलले बताउने गर्छन्। यसपछि पौडेल राजाका कदमविरूद्ध प्रजातान्त्रिक आन्दोलनहरूमा सक्रिय रूपमा लागेका थिए।

    पौडेलले काठमाडौंका विभिन्न विद्यालयका विद्यार्थीहरू भेला गरी आन्दोलनको नेतृत्व गर्न थालेका थिए। उनले २२ विद्यालयका विद्यार्थी भेला गरी स्ववियु माग गर्दै आन्दोलनको नेतृत्वसमेत गरेका थिए।

    पौडेललाई २०१८ सालमा भरतपुर कब्जा गर्ने कांग्रेस सशस्त्र संघर्षमा लागेको भन्दै काठमाडौंबाट पक्राउ गरिएको थियो। उनी करिब एक महिना हिरासतमा बसेका थिए। २०१९ सालमा नेपाल संस्कृत विद्यार्थी संघको संगठन सचिवको हैसियतमा उनी पहिलो पटक पक्राउ परे। केही समयमा छुटेका उनी २०२० मा फेरि पक्राउ परेका थिए।

    २०२१ सालमा विद्यार्थी आन्दोलनका क्रममा पक्राउ परेका पौडेललाई हिरासतमा बन्दी बनाएर राखिएको थियो।

    पौडेलले २०२३ सालमा गण्डकी छात्र संघ खोलेका थिए। त्यही वर्ष उनी सरस्वती कलेजमा स्वतन्त्र विद्यार्थी युनियन सभापतिमा निर्वाचित भएका थिए। एक वर्षपछि पौडेल प्रजातान्त्रिक समाजवादी युवा संघ संस्थापक महासचिव भएर काम गरेका थिए।

    यही बेला डिआइजी काण्डमा पक्राउ परेका पौडेललाई पहिलो पटक जेलमा राखिएको थियो। ललितपुरको नख्खु जेल पौडेलका लागि ‘ठूला नेता’ भेट्ने अवसर पनि मिल्यो। नख्खु जेलमा पौडेलले गिरिजाप्रसाद कोइरालालाई भेट्न र संगत गर्न पाएका थिए।

    राजनीतिसँगै पौडेलले पढाइलाई पनि निरन्तरता दिए। उनले २०२४ मा संस्कृत साहित्यमा शास्त्री गरेका थिए।

    २०२४ सालमा प्रजातान्त्रिक युवा संघ महासचिव भएको आरोपमा प्रहरीले पक्राउ गरी पौडेललाई १५ महिना हिरासतमा राखेको थियो। उनलाई त्यसबेला ९ महिना पोखरा र ६ महिना काठमाडौंका हिरासतमा राखिएको थियो।

    पक्राउ पर्दै, छुट्दै गरिरहेका पौडेल २०२५ मा पुन: पोखराबाटै पक्राउ परेका थिए। प्रजातान्त्रिक समाजवादी युवा संघको संगठन विस्तार गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

    यसको केही वर्षमा २०२७ सालमा नेविसंघ स्थापनामा पौडेलले मुख्य भूमिका पनि खेलेका थिए। उनी नेविसंघ संस्थापक सदस्य हुन्। नेविसंघ स्थापनामा नेतृत्व गरेको आरोपमा २०२७ मा पौडेल काठमाडौंबाट पक्राउ परेका थिए, त्यो बेला उनलाई तीन महिना हिरासतमा राखिएको थियो।

    पौडेल नेविसंघ सदस्य हुँदा विपिन कोइराला सभापति र केही समयमै शेरबहादुर देउवा नेविसंघ सभापति बनेका थिए। पौडेल र देउवाबीच त्यही बेलादेखिको दोस्ती र प्रतिस्पर्धा अहिलेसम्म पनि जारी नै थियो।

    पौडेलले २०२७ मै नेपाली साहित्यमा स्नातकोत्तर पास गरेका थिए। मोरङको रमाइलो झोडा काण्डको विरोध गरेको आरोपमा पौडेल २०२८ सालमा पक्राउ परेका थिए। यसअघि छोटो-छोटो समयमा छुट्दै आएका पौडेल यस पटक भने लामो समय नै जेल परे। पौडेल २०२८ देखि २०३२ सम्म जेल परे।

    नेविसंघ संस्थापक सदस्य बनेको ६ वर्षपछि पौडेललाई पार्टी राजनीतिको ढोका खुल्यो। उनी २०३४ सालमा कांग्रेस तनहुँ सदस्य बने। त्यही वर्ष कांग्रेसको पटना सम्मेलनमा सक्रिय रहेको आरोपमा उनलाई पक्राउ गरी १० महिना हिरासतमा राखिएको थियो। यो सम्मेलनबाट नै कांग्रेसले पञ्चायतको अन्त्य र प्रजातन्त्र पुनर्स्थापनाका लागि सत्याग्रह गर्ने निर्णय गरेको थियो।

    पौडेल २०३६ सालमा तनहुँ जिल्ला उपसभापति भएका थिए। त्यसबेला जनमत संग्रहका सिलसिलामा बहुदलीय व्यवस्थालाई जिताउन भूमिका खेलेको आरोपमा पक्राउ परेका पौडेललाई ६ महिना प्रहरी हिरासतमा राखिएको थियो।

    २०३७ मा जनमत संग्रहको सिलसिलामा बहुदलीय व्यवस्थाको प्रचारप्रसार गर्न गठित कांग्रेस तनहुँ समिति संयोजक भएर पनि पौडेलले काम गरेका थिए।

    २०३८ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा कांग्रेस निर्णयअनुसार चुनाव बहिष्कार अभियानमा सक्रिय रहेका पौडेल पक्राउ परेका थिए। उनी त्यसबेला ६ महिना हिरासत बसेका थिए।

    २०४० मा पौडेलले कांग्रेस केन्द्रीय सदस्य र प्रचार विभाग प्रमुखको जिम्मेवारी पनि पाएका थिए। २०४२ मा पञ्चायत अन्त्य र प्रजातन्त्र पुनर्स्थापनाका लागि कांग्रेसले गरेको सत्याग्रह सफल बनाउन सक्रिय रहेको आरोपमा पौडेल पक्राउ परेका थिए, ९ महिना हिरासत बसेपछि मुक्त भए।

    यसपछि २०४३ सालमा पौडेल पुन: कांग्रेस केन्द्रीय सदस्य बने। २०४६ सालको जनआन्दोलनमा कांग्रेसका विभिन्न विभाग र पत्रपत्रिका प्रकाशन गरी सार्वजनिक गरेको आरोपमा छापाखाना तथा प्रकाशन ऐन उल्लङ्घन भएको भन्दै ३ महिना पौडेललाई हिरासतमा राखिएको थियो।

    उनी २०४६ मै बहुदलीय व्यवस्थाको पुनर्स्थापनार्थ तत्कालीन धवलागिरि अञ्चलका जिल्लामा संगठन विस्तारका क्रममा पक्राउ परेका पौडेललाई बागलुङ जेलमा ५ महिना राखिएको थियो।

    पौडेल २०४८ मा तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भए। लगत्तै उनी पहिलो पटक मन्त्री बने। पौडेल २०४८ जेठ १५ गतेदेखि २०५१ सालसम्म उनी स्थानीय विकास र कृषि मन्त्री बनेका थिए।

    २०५१ मा पनि पौडेल तनहुँ क्षेत्र नम्बर २ बाट विजयी भए। उनी त्यसपछि प्रतिनिधि सभाको सभामुख बनेका थिए।

    २०५६ को चुनावमा उनी तनहुँ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

    गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा पौडेल उपप्रधान तथा गृहमन्त्री थिए। लाउडा जहाज खरिदमा भ्रष्टाचार भएको भन्दै नेकपा (एमाले) ले त्यतिबेला प्रधानमन्त्री कोइरालाको राजीनामा माग्दै ५७ दिनसम्म संसद अवरूद्ध गरेको थियो। कोइराला सरकारमा हुन्जेल वार्ता नगर्ने माओवादी अडानका कारण पनि एमालेलाई संसद अवरोध कायम राख्न सजिलो भएको थियो।

    पछि २०५९ सालमा कांग्रेसभित्र देउवा र कोइरालाबीच तिक्तता बढ्दै गयो। प्रधानमन्त्री रहेका देउवालाई कोइरालाले कांग्रेसको साधारण सदस्यबाट निष्कासन गरिदिए। कोइरालाको कदमको जवाफमा देउवाले नयाँ पार्टी खोले।

    पौडेल पनि त्यतिबेला देउवातिर गएका थिए। उनी देउवाले गठन गरेको नेपाली कांग्रेस (प्रजातान्त्रिक) को सभापति बन्ने तयारीमा थिए। भेला भइरहेका बेला पौडेललाई कोइरालाले फोन गरेर भने- तिमी टुक्रिएको पार्टी सभापति होइन, एकदिन सिंगो कांग्रेसको सभापति हुनेछौ, आऊ।

    त्यही फोनको आधारमा पौडेल देउवाको साथ छोडेर कांग्रेस संस्थापनमा फर्किए। त्यही दिन देउवा कांग्रेस (प्रजातान्त्रिक) को सभापति भए। यो घटनालाई देउवाले पौडेलले दिएको धोकाको रूपमा लिने गरेका छन्।

    २०६१ देखि २०६२ सम्म पौडेल शान्ति समिति संयोजक रहेर काम पनि गरेका थिए। पौडेल २०६२ मा कांग्रेस महामन्त्री बने। यही बेला देशमा जनआन्दोलन भएको थियो।

    पौडेलले २०६३ देखि शान्ति तथा पुनर्निर्माण मन्त्री भएर काम गरे। उनी त्यसबेला १ वर्ष मन्त्रालयमा रहे। २०६४ मा पौडेल पार्टी उपसभापति बने।

    पहिलो संविधान सभा निर्वाचन २०६४ मा उनी तनहुँ-२ बाट निर्वाचित भएका थिए। यसपछि २०७० सालसम्म पौडेल संसदीय दल नेतासमेत थिए। उनले संसदीय दल नेतामा देउवालाई हराएका थिए।

    यसबीचमा २०६७ साउनमा पौडेल प्रधानमन्त्री उम्मेदवार भएका थिए। १७ पटकसम्म संसदमा मतदान भए पनि पौडेल प्रधानमन्त्री नियुक्त हुन सकेनन्।

    २०७० को दोस्रो संविधान सभा निर्वाचनमा पनि पौडेल तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।

    उनले २०७२ मा कांग्रेसको कार्यवाहक सभापतिसमेत भएर काम गरेका थिए। पौडेलकै नेतृत्वमा कांग्रेसले २०७२ फागुनमा १३ औं महाधिवेशन गरेको थियो। तर यो महाधिवेशनमा पौडेल देउवासँग पराजित भएका थिए।

    २०७४ सालमा भएको निर्वाचनमा पौडेल तनहुँ- १ बाट पराजित भए। सोही क्षेत्रबाट यसपालि गत मंसिर ४ मा पौडेल प्रतिनिधि सभा सदस्यमा पुन: विजयी भएका थिए।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ