काठमाडौँ । चैत ५ गते हुन गइरहेको त्रिवि स्ववियु निर्वाचनमा १ लाख ६१ हजार भन्दा बढी विद्यार्थीले भोट हाल्दैछन ।
त्रिभुवन विश्वविद्यालयका देशभरका ६२ वटा आंगिक क्याम्पसहरूमा १ लाख ६१ हजार ४ सय ५४ जना विद्यार्थीको नाम सार्वजनिक गरिएको छ ।
जसमा उपत्यका बाहिर ९४ हजार ८ सय ८ जना र उपत्यकाभित्र ६६ हजार ६ सय ४६ जना विद्यार्थी मतदाता रहेका छन् ।
तीमध्ये सिराहामा रहेको सुर्य नारायण सत्यनारायण मोरभेता यादव बहुमुखी क्याम्पस र काठमाडौँ घण्टाघरमा रहेको त्रिचन्द्र बहुमुखी क्याम्पस घण्टाघरको मतदाता संख्या सार्वजनिक गर्न बाँकी रहेको छ । ती दुवै क्याम्पसहरूमा विवाद भएपछि मतदाता नामावली सार्वजनिक हुन नसकेको जनाइएको छ ।
सबैभन्दा बढी विद्यार्थी पोखराको पृथ्वीनारायण क्याम्पसमा रहेका छन् । जहाँ १० हजार ८ सय ७० जना विद्यार्थीहरू रहेका छन् । त्यसपछि सबैभन्दा बढी विद्यार्थी वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा रहेका छन् ।
जहाँ १० हजार २ सय ६२ जना विद्यार्थी रहेका छन् । सबैभन्दा कम विद्यार्थी रामपुर चितवनको चितवन इन्जिनियरिङ क्याम्पसमा रहेका छन् । जहाँ ७१ जना मात्रै मतदाता विद्यार्थी रहेका छन् । त्यस्तै वीरगञ्जको नर्सिंङ क्याम्पसमा १ सय ५६ जना मतदाता विद्यार्थी रहेका छन् ।
यस्तै, सूचना उपलब्ध नगराएको आरोपमा राष्ट्रिय सूचना आयोगले सप्तारीको कञ्चनरुप नगरपालिकाको कार्यालयका कार्यालय प्रमुखलाई कारबाही गरेको छ ।
आयोगले प्रमुख प्रशासकीय अधिकृत रेणुका शाहलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम १५ हजार जरिवाना गराएको हो ।
सप्तकोशी नगरपालिका-११ निवासी कैलाशमाझीले कञ्चनरुप नगरपालिकाको कार्यालयसँग सूचना माग गरेका थिए । तर पटक-पटक लिखित जवाफ माग गर्दा तथा सूचना उपलब्ध गराउन आदेश हुँदा पनि सूचना मागकर्ताबाट माग भएको सूचना उपलब्ध गराउने प्रयास नभएको आयोगको ठहर छ ।
आयोगले सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ६(७) बमोजिम आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२(१) बमोजिम गरेको जरिवाना असुलउपर गरी आयोगलाई जानकारी दिनु भनेर जिल्ला प्रशासन कार्यालय, सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई आदेश दिएको हो ।
त्यस्तै, शाहलाई विभागीय कारबाही गरी र पुनरावेदकलाई सूचना उपलब्ध गराई दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लेखेर पठाउन समेत भनेको छ । यस निर्णय चित्त नबुझेमा शाहले ३५ दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न पाउनेछिन् ।
प्रतिक्रिया