रुपन्देही। रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गर्ने तयारी गरिंदै छ ।
नगरपालिकाले सञ्चालन गरेको हरियाली प्रवर्द्धन एवं सरसफाइ अभियानको सयौँ शृङ्खलाको अवसरमा यही चैत १ गते तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गर्न लागिएको हो ।
नगरपालिकाले २०७४ साउन ६ गते सुरु गरेको समुदायमा आधारित साप्ताहिक हरियाली प्रवर्द्धन एवं सरसफाइ अभियान चैत १ गते एक सयौँ शृङ्खला पुग्दैछ ।
नगरपालिकामा हुने ध्वनि प्रदूषणलाई नियन्त्रण गर्न त्यस्तो घोषणा गर्न लागिएको नगरप्रमुख रामकृष्ण खाणले जानकारी गराए ।
हरियाली प्रवर्द्धन एवं सरसफाइ अभियानको एक सयौँ शङ्खलाका अवसरमा नगरपालिकाले बिहीबारदेखि साताव्यापी विविध कार्यक्रमको तयारी गरेको छ ।
जसअन्तर्गत बिहीबार टेलिभिजन बहस कार्यक्रम, २६ गते विद्यालयस्तरीय वक्तृत्वकला तथा कला प्रदर्शन कार्यक्रम, २७ गते सरसफाइ तथा रक्तदान, २८ गते शैक्षिक सङ्घसंस्थाको परिसर तथा शौचालय सरसफाइ कार्यक्रम, २९ गते लक्षित समुदायमा कम्पोष्टबिन वितरण र ३० गते मानव साङ्लोसहित सिक्सलेन सडक सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ ।
प्रतिक्रिया