काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो ४ दिनयता वायु प्रदूषण निरन्तर बढ्दै गएको छ । यो क्रम बढेर बुधवार काठमाडौँ विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा पुगेको यूरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर) ले देखाएको छ ।
उक्त तथ्यांकअनुसार वायुको गुणस्तर सूचकाङ्क अस्वस्थकर देखिएको छ । आईक्यूएयरका अनुसार बुधवार अपराह्न १ः३५ बजे काठमाडौँको अमेरिकन एम्बेसी अगाडिको मापनयन्त्रले देखाएको वायु प्रदूषणको मात्रा २ सय ३४ यूएस आईक्यूआई छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का अनुसार आईक्युआई ५० भन्दा बढी रहेको वातावरण मानव स्वास्थ्यका लागि घातक हुँदै जान्छ । आईक्युआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँचिन्छ ।
आईक्यूआईले वायुमा मिसिएका आँखाले देख्न नसकिने २।५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ ।
वातावरण विभागका अनुसार यो समाचार तयार पर्दासम्म बुधवार रत्नपार्कको यूएस आईक्यूआई १ सय ७३, भक्तपुरको २सय ७, कीर्तिपुरको १ सय ८१ र नारायणीको २ सय ४२ देखिएको छ । आईक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ मानिन्छ भने १ सय ५१ भन्दा माथि भए सबैका लागि अस्वस्थकर मानिन्छ ।
काठमाडौँको वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्डभन्दा ९ गुणा बढी देखिएको छ । डब्लुएचओले पिएम-२.५ को मात्रा वार्षिक औसत ५ माइक्रोग्राम प्रतिघनमिटर निर्धारण गरेको छ । तर, काठमाडौँमा यो मात्रा ४६ पुगेको पाइएको हो ।
यसअघि आइक्यूएयरले आफ्नो वेभसाईटमा प्रकाशित ‘विश्वको वायुको गुणस्तरसम्बन्धी प्रतिवेदन, २०२१’ अनुसार काठमाडौँ सन् २०२१ मा विश्वको छैटौँ प्रदूषित राजधानी बनेको थियो । आइक्यू एयरले नेपाल प्रदूषित मुलुकको १० औँ स्थानमा राखेको थियो भने पहिलोमा बंगलादेश छ । दक्षिण एसियामा नेपाल छैटौँ प्रदूषित मुलुकमा परेको छ ।
वायु गुणस्तरसम्बन्धी मापदण्ड, २०६९ ले पिएम-२.५ को मात्रा २४ घण्टामा ४० माइक्रोग्राम प्रतिघनमिटर कायम गरेको छ । हिउँदमा काठमाडौँ र तराईका सहरमा यो मात्रा ३ सयदेखि ४ सयसम्म पुग्ने अनुमान वातावरण विभागको छ ।
वातावरण निरीक्षक गोविन्द लामिछानेका अनुसार काठमाडौँमा यस वर्ष हिउँदमा पानी धेरै नपरेकाले पनि मौसम धमिलो वा तुवाँलो देखिएको हो। उनले भने, ‘यो अझै केही दिन लम्बिने देखिन्छ । गर्मी सुरु भएपछि तराईमा प्रदूषणको तह झन् बढ्ने देखिन्छ ।’
प्रतिक्रिया