काठमाडौँ। सिराहाको गोलजबरा नगरपालिका ३ जमदह चुरे क्षेत्रको जंगलमा होलीको अवसरमा साथीहरुसँग वनभोज खान गएका एक युवकको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार जंगली हात्तीको आक्रमणमा गोलबजार नगरपालिका ३ जमदह पुराण्डीका रवि मुसहरका छोरा करिब २२ वर्षीय देवप्रसाद सदाको मृत्यु भएको हो ।
खानेकुरा पकाएर खाने क्रममा मंगलबार अपरान्ह्र करिब ४ बजेतिर उत्तरतिरबाट आएको दुईवटा हात्तीको समूहले आक्रमण गरेपछि सदाको घटनास्थमै मृत्यु भएको सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन्द्राज पाण्डेले बताए ।
प्रहरी नायव उपरीक्षक पाण्डेका अनुसार हात्ती देखेपछि अरु भने भाग्न भ्याएपनि सदा भाग्न नभ्याउँदा आक्रमणमा परी मृत्यु भएको हो । घटनास्थलबाट भागेका युवाहरुले घटनाको जानकारी दिएलगत्तै स्थानीय बासिन्दा र प्रहरी मिलेर हात्तीलाई जंगलतिर लखेटेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजु केसी र सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी निरीक्षक सूर्य ढकालको कमाण्डमा १२ जना प्रहरीको संयुक्त टोलीले एम्बुलेन्समा राती करिब साढे १० बजेतिर शव पोष्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पअताल लगिएको हो ।
मंगलबार अपरान्ह हात्तीको आक्रमणमा युवकको मृत्यु भएलगत्तै राती पुनः हात्तीको आक्रमणमा स्थानीय मुनिलाल घिसिङको घरमा क्षति पुगेको गोलबजार ३ का वडाध्यक्ष धनप्रसाद मोक्तानले बताएका छन् । वडाध्यक्ष मोक्तानका अनुसार उनको घरमा भएको क्षतिको विषयमा बुधबार बिहान प्रहरीको सहयोगमा स्थलगत अनुगमन गरिँदैछ ।
प्रतिक्रिया