काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । राष्ट्रपति निर्वाचनका बारेमा कसलाई मत दिने भन्नेलगायतका विषयमा निर्णय गर्नका लागि बैठक बोलाइएको हो । बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा १ बजे बस्ने भनिएको छ ।
‘राष्ट्रपतिको निर्वाचनका बारेमा पनि बैठकमा छलफल हुनेछ,’ प्रवक्ता मोहन श्रेष्ठले भने । उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएर निष्कर्षमा पुग्नेछ ।
पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको राप्रपाले सोही गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललगायतसँग गठबन्धनमा आबद्ध नेताहरूसँग यसअघि नै छलफल गरिसकेको छ ।
आफ्नो पार्टीसँग मत माग्न आएका पौडेललगायतका गठबन्धन आबद्ध राजनीतिक दलसँग सोमबार साँझ छलफल गरेको राप्रपाले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका बारेमा कसलाई मत दिने भन्नेबारे आज निर्णय लिने बताइएको छ ।
यस्तै, नेपाली कांग्रेसका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य डा प्रकाशशरण महतले पछाडि फर्केको देशको राजनीति पुनः सम्हालिएर अघि बढ्न थालेको बताएका छन् ।
नुवाकोट जिल्लास्तरीय बाह्रौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको समापन कार्यक्रमलाई आज नुवाकोटको लिखुमा सम्बोधन गर्दै उनले जनमत र राष्ट्रिय आवश्यकताअनुसार गरिएको गठबन्धनले बाटो बिराएर पछाडि फर्कन थालेकामा कांग्रेसको सक्रियताले पुनः लयमा ल्याउन सफल भएको बताएका हुन् ।
‘सबै तहका निर्वाचन सम्पन्न भएसँगै अब विकासको अवसर सिर्जना भयो भनेर खुसी भएका जनतामा गत पुस १० गतेपछि नैराश्यता छाएको थियो,’ डा महतले भने, ‘राष्ट्रपतिको निर्वाचनले पुनः जनमतको सम्मान र जनताको चाहनालाई सम्बोधन गर्नेछ । आशा गराैँ यो निश्चित गन्तव्यमा पुग्नेछ ।’
देशमा राजनीतिक स्थिरता र स्थिर सरकारको निर्माण गर्न बाटो खुला भएकाले विकास निर्माणमा केन्द्रित हुन बाम-लोकतान्त्रिक गठबन्धनमा आबद्ध दललाई जनमतअनुसार एकजुट बनाएको उनको भनाइ थियो ।
प्रतिक्रिया