काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिला उद्यमशीलता र स्वरोजगारलाई विकास गर्न भएका प्रयासहरू घनिभूत बनाउन जरुरी भएको बताएका छन् ।
आज १ सय १३ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रधानमन्त्री दाहालले आज जारी शुभकामना सन्देशमा महिला दिदीबहिनीलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी समान अधिकार र राज्यका सबै अङ्गमा समानुपातिक प्रतिनिधित्वका साथै अर्थपूर्ण नेतृत्व स्थापित गर्न थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै शुभकामना व्यक्त गरेका छन् ।
‘राजनीतिक अधिकारले त्यतिबेला मात्र सार्थकता प्राप्त गर्दछ, जतिबेला उक्त अधिकारले जनताको जीवनमा सकारात्मक प्रभाव पार्दछ, सामाजिक मान्यता र परम्परामा परिवर्तन ल्याउँछ, सांस्कृतिक रूपान्तरणको आधारशिला खडा गर्दछ’, शुभकामना सन्देशमा भनिएको छ, ‘महिलाको राजनीतिक अधिकारका साथै आर्थिक अधिकारमा समानता, आत्मनिर्भर र स्वरोजगारको प्रबन्ध, बदलिएको राजनीतिक व्यवस्थाअनुरूप सामाजिक व्यवस्था रूपान्तरणमा हस्तक्षेप महत्त्वपूर्ण हुन्छ ।’
मुक्ति, समानता र स्वतन्त्रताको आकङ्क्षासहित सुरु भएको महिला आन्दोलन र प्राप्त अधिकारको स्मरण र सम्मानस्वरूप विश्वभरि प्रत्येक वर्ष मार्च ८ मा मनाउँदै आएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा स्वेदश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले नेपालको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाहरूको निर्णायक सहभागिता र गुरुत्वपूर्ण नेतृत्व रहिआएको स्मरण गरेका छन् ।
यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीले पनि १ सय १३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन् ।
भण्डारीले महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको पनि बताएकी छन् ।
अन्तर्राष्ट्रिय महिला दिवसले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चित गर्न सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुने विश्वास राष्ट्रपति भण्डारीले लिएकी छन् ।
उनले महिला सशक्तीकरण, प्रतिनिधित्व र सहभागितालाई लैङ्गिक समानता हासिल गर्ने प्रमुख माध्यमका रूपमा लिनुपर्नेमा जोड दिकी छन्।
राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ, “महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको छ, यद्यपि महिलाको नेतृत्व विकास, अवसरको समतामूलक उपलब्धता र वितरण तथा आर्थिक प्रगतिका क्षेत्रमा तय गर्नुपर्ने लामो यात्रा बाँकी नै छ”, शुभकामना सन्देशमा भनिएको छ, “यस सन्दर्भमा महिलाको सहभागिता र प्रतिनिधित्व गर्न संविधानमार्फत हामीले व्यवस्था गरेका संरचनात्मक आधारले सकारात्मक परिणाम ल्याउन थालेको पक्षलाई हृदयङ्गम गर्नु सान्दर्भिक हुन्छ, यसको फलस्वरूप मुलुकका तीनै तहका सरकार, संसद् र नीति निर्माणका निकायमा महिलाको भूमिका सुदृढ हुँदै गएको छ, यसबाट नेपाली महिलाको प्रतिष्ठा क्रमशः अभिवृद्धि हुँदै गएको छ भन्ने मलाई लाग्दछ ।”
अन्तर्राष्ट्रिय महिला दिवसले विश्व महिला आन्दोलनको आरम्भलाई स्मरण गर्दै महिलाको न्यायपूर्ण हक र अधिकारका क्षेत्रमा हालसम्म प्राप्त उपलब्धि संस्थागत गर्न अभिप्रेरित गर्ने विश्वास राष्ट्रपतिले व्यक्त गरेकी छन् ।
प्रतिक्रिया