काठमाडौँ। एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरीले प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डविरुद्धको रिटलाई राष्ट्रपति निर्वाचनअघिको प्रोक्सी वार (छद्म युद्ध)को रूपमा अर्थ्याएका छन् ।
मंगलबार फेसबुकमार्फत उनले रिट दायर गरेर इमोसनल ब्ल्याकमेलिङ गरिएको भन्दै कोही त्रसित वा खुसी हुन आवश्यक नरहेको प्रस्ट्याएका हुन् । यस विषयमा केही काम बाँकी भए पनि अधिकांश विषय संयुक्त राष्ट्रसंघको रोहबरमा नेपाल सरकार र विद्रोही पक्षको बीचमा प्रक्रिया मिलाएर टुंगोमा पुगेको बताएका हुन् ।
‘कमरेड प्रचण्डविरुद्ध सर्वोच्चमा गरेको रिट र हुन सक्ने सम्भावनाको विषय केवल भ्रमित कुरा मात्रै हो । तत्कालीन समयमा संयुक्त राष्ट्रसंघको रोहबरमा नेपाल सरकार र विद्रोही पक्षको बीचमा प्रक्रिया मिलाएर टुंगोमा पुगेको विषय हो ।
हो, केही काम बाँकी छ। यो सरकारले टुंगोमा पुर्याउने विषय हो। यसैले कसैले पनि अनावश्यक यो र त्यो होला भनेर त्रसित नबनौँ र खुसी पनि हुनु जरुरी छैन । यो फगत भ्रम हो । प्रक्रियाले यो टुंगिन्छ । राष्ट्रपति चुनावअगाडि गरिएको प्रोक्सी लडाइँ हो। इमोसनल ब्ल्याकमेलिङ हो,’ चौधरीले लेखेका छन् ।
प्रतिक्रिया