काठमाडौँ । आईसीसी विश्वकप लिग-टु अन्तर्गतको सिरिजमा सहभागी भएर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।
मंगलबार साँझ युएई गएको नेपाली टोली स्वदेश फर्किएको हो । लिग टु सिरिजको आफ्नो अन्तिम विदेशी त्रिकोणात्मक सिरिज खेलेर नेपाली टोली स्वदेश आज स्वदेश फर्किएको छ ।
युएई भ्रमणका क्रममा नेपालले खेलेको चार मध्ये तीन खेलमा जित हात पारेको थियो । पपुवान्युगिनी र घरेलु टोलीसँग समान २-२ खेल खेलेको थियो ।
जसमा पपुवान्युगिनीसँगका दुवै खेल जितेको थियो भने युएईसँगको पहिलो खेल हारेको थियो । नेपालले पपुवान्युगिनी र युएईसँग नै घरेलु मैदानमा आईसीसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम सिरिज खेल्दैछ ।
नेपालसँगै युएई पनि नेपालमा हुने सिरिजका लागि आज नै नेपाल आएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा आयोजना हुने सो खेलको पहिलो खेलमा नेपालले मार्च ९ (फागुन २५) मा पपुवान्युगिनीसँग खेल्नेछ ।
यस्तै, कान्तिपुर पिङपोङ भ्याली क्लब (केपीभीसी) की रोनिशा महर्जनले बृहत खेलकुद महोत्सवअन्तर्गत ललितपुर जिल्लास्तरीय टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा मंगलबार स्वर्ण जितेकी छन् ।
सातदोबाटोस्थित कराते हलमा भएको फाइनलमा रोनिशाले अस्मिता स्कुलकी योङ्गी पौडेललाई ४–३ को सेटमा पराजित गरिन् । एएनएस १९८० क्लबकी अंकिता वज्राचार्य तेश्रो भइन् ।
ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको भेट्रान ६० वर्षमाथि पुरुष सिंगल्समा केपीभीसीका जग्दिश्वरप्रसाद जोशी पहिलो भए ।
उनले फाइनलमा एपीएम क्लबका रोशन प्रधानलाई ३-० को सोझो सेटमा पराजित गरे । एपीएमका सुमन खड्गी र खोल्छा पुखु क्लबका धर्मेन्दराज शाक्य संयुक्त रुपमा तेश्रो बने ।
प्रतिक्रिया