जनकपुरधाम । होलीका अवसरमा जनकपुरधाममा मंगलबार महामूर्ख सम्मेलन गरिदै छ ।
दुई दिवसीय होली महोत्सवअन्तर्गत हुने महामूर्ख सम्मेलन सबैको आकर्षणको केन्द्रको रूपमा रहेको छ । महामूर्खको उपाधिका लागि विभिन्न व्यक्ति प्रतिस्पर्धामा रहेको मिथिला नाट्यकला परिषद्का महासचिव शैलेन्द्र मल्लिकले बताए ।
कार्यक्रममा मिनापको हास्य शैलीको व्यङ्ग्यपूर्ण नाट्य प्रस्तुति, मिनापद्वारा होरी गायन, हास्य कवि गोष्ठी, सम्मान, मूर्ख एवं महामूर्खको उपाधि वितरणका साथै मूर्ख र महामूर्खलाई सम्मान तथा प्रेमोपहार वितरण गर्ने उनले बताए।
अघिल्लो वर्ष ‘महामूर्ख’को उपाधि मधेश प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झाले पाएका थिए । २०६१ मा जनकपुरधाममा महामूर्ख सम्मेलनको आरम्भ गरिएको थियो ।
यस्तै, शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका थारु समुदायका अगुवा लहानु चौधरी होली पर्वका अवसरमा गाउँको देउथानमा आगो बाल्नमा व्यस्त छन्।
देउथानमा बालेको नयाँ आगो घर घरमा भित्र्याउने प्रचलन अनुसार उनी आगो बाल्न व्यस्त देखिएका हुन्। होलीका अवसरमा गन्यारी नामक काठबाट निकालिएको आगो घरको चुलोमा बालेर वर्ष भरी निभ्न नदिने गरिएको उनले बताए।
“होलीका बेला भित्राइएको आगो तापेमा घरमा सुख शान्ति हुने र रोग व्याधि हटेर जाने विश्वास रहेको छ”, उनले भने, “देउथानमा बालिएको आगोमा गुइँठामा सल्काएर गाउँका सबैले घरमा लैजाने चलन पुस्तौँदेखि चल्दै आएको छ, यसलाई जीवन्त राख्दै आएका छौँ ।”
सिमलको हाँगा गाडेर राखिएको ठाउँमा तोरीको डाँठ लगायतले बेरेर ठूलो थुम्को बनाएर राखिन्छ । थारु गाउँका गुरुवा, वडघरियाले देउथानमा तेलमा पकाईएको रोटी, गुडले पूजा गरि दियो बालेपछि परिक्रमा सकेपछि त्यस थुम्कोमा आगो लगाउने गर्दछन ।
आगो भने गाउँको दक्षिणतर्फ रहेको क्षेत्रमा बाल्ने गरिन्छ । रोटी र गुड आगो ल्याउन आएका सबै जनालाई प्रसादका रुपमा समान रुपमा बाँड्ने र ग्रहण गर्ने चलन रहेको वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए ।
प्रतिक्रिया