काठमाडौँ। पछिल्लो समय सूचना प्रविधि र सामाजिक सञ्जालको क्षेत्रमा विभिन्न परिवर्तन र नयाँ गतिविध देखापरेका छन् । प्रविधि कम्पनीहरूले जारी राखेका कर्मचारी कटौतीदेखि जेनेरेटिभ एआई टुल निर्माणको होड र टिकटकको बढ्दो संकट लगायत प्रविधि क्षेत्रमा यो साता नयाँ र उत्साहपूर्ण अपडेटहरूदेखिएका छन् ।
गोपनियता र सुरक्षामा अस्वीकार्य जोखिम रहेको भन्दै क्यानडा सरकारले आफ्ना सरकारी डिभाइसहरूमा टिकटकको प्रयोगमा प्रतिबन्ध लगाएको छ । क्यानडा र चीन बीचको सम्बन्धमा बढ्दो चिसोपन र अमेरिकी सरकार तथा यसका विभिन्न राज्यहरूले चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको एप टिकटकमा बढाएको निगरानी र प्रतिबन्धको सन्दर्भमा क्यानडा सरकारको यो कदमले टिकटकको समस्या थपिएको छ ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफूहरूले क्यानडाका प्रयोगकर्ताहरूको अनलाइन सुरक्षालाई ध्यान दिइरहेको पत्रकारहरूसँग भने । ‘हामीले सरकारी डिभाइसहरूमा टिकटकको प्रयोग रोकेपछि क्यानडाका व्यापारिक फर्म, संस्थाहरू र व्यक्तिगत प्रयोगकर्ताले पनि आफ्नो डेटाको सुरक्षाबारे पुनर्विचार र आवश्यक कदम चाल्नुहुनेछ भन्ने हाम्रो सोचाइ छ,’ उनले भने, ‘यो अनलाइन सुरक्षाको लागि हामीले चाल्ने कदमको शुरूवात हुनसक्छ ।’
टिकटकले शुरूमा आफू निराश रहेको प्रतिकृया दिए पनि पछि अर्को विज्ञप्ती निकाल्दै ‘क्यानडाको यो कदम अमेरिका र युरोपेली प्रतिबन्धको निरन्तरता भएको’ टिप्पणी पनि गरेको छ ।
यस्तै, चर्चित प्रविधि कम्पनीहरूले केही समययता शुरू गरेको कर्मचारी कटौतीको श्रृंखला फेब्रुअरी महिनामा पनि जारी रह्यो, जसमा झन्डै २८ हजार जनाले आफ्नो रोजगारी गुमाएको अनुमान रहेको छ । यसअघि सन् २०२३ देखि शुरू हुनेबित्तिकै प्रविधि कम्पनीहरूको आक्रामक कर्मचारी कटौतीका कारण जनवरी महिनामा मात्रै झन्डै ६५ हजारले आफ्नो रोजगारी गुमाएका थिए ।
फेब्रुअरी महिनामा उल्लेख्य कर्मचारी कटौती गर्ने प्रविधि कम्पनीहरूमा स्वीडिश कम्पनी एरिक्सनको ८ हजार ५ सय जना, अमेरिकी कम्पनीहरू ट्वीलोको १ हजर ५ सय जना, याहुको १हकर ६ सय जना, जुमको १ हजार ३ सय जना, डेलको ६ हजार ६ सय ५० जना लगायत समावेश रहेका छन् । सन् २०२२ यता प्रविधि कम्पनीहरूले कोभीड-१९ पछि पुरानै स्वरूपमा फर्कँदै गरेको बजार र नयाँ क्षेत्रमा बढ्दो प्रतिस्पर्धा लगायत कारणले कर्मचारी संख्यामा व्यापक कटौती गर्दै आएका छन् ।
अमेरिकाले एक ऐनमार्फत सेमीकन्डक्टर चीपहरूको उत्पादन र बजार नियन्त्रणको प्रयास अघि बढाएपछि चीनले आफ्ना चीप निर्माता कम्पनीहरूलाई आत्मनिर्भर बनाउने पहलस्वरूप आक्रामक लगानी थपेको छ । चीनको सबैभन्दा प्रमुख चीप निर्माता कम्पनी याङजी मेमोरी टेक्नोलोजीले चिनियाँ सरकारको स्वामित्वमा रहेको नेशनल इन्टिग्रेटेड सर्किट इन्डस्ट्री इन्भेस्टमेन्ट फन्डमार्फत १२.९ अर्ब युआन अर्थात झन्डै २ अर्ब अमेरिकी डलर प्राप्त गर्न लागेको चिनियाँ सरकारी समाचारलाई उदृत गर्दै ब्लुमबर्गले जनाएको छ ।
अमेरिकी वाणिज्य मन्त्रालयले डिसेम्बरमा एक ऐनमार्फत याङजीसमेत दर्जनौं कम्पनीलाई अमेरिकी चीप प्रविधि खरीदमा प्रतिबन्ध लगाएको थियो । अमेरिकी सरकारको उक्त ऐनले राष्ट्रिय सुरक्षा चासो र चीनको रक्षा प्रविधी विकासमा प्रयोग हुनसक्ने भन्दै चिनियाँ चीप निर्माताहरूमाथि लगाम कस्न शुरू गरेको हो ।
वाशिङ्टन र बेइजिङबीचको बढ्दो तनावका बीच अमेरिकी कम्पनीहरूले आफ्नो निर्माण प्लान्टहरूलाई चीनबाट अन्यत्र सार्ने विकल्प खोज्न थालेका छन् । यसै क्रममा एप्पलको साझेदार कम्पनी फक्सकन टेक्नोलोजी ग्रुपले भारतको कर्नाटकमा ७ सय मिलियन अमेरिकी डलर अर्थात झन्डै १ सय अर्ब नेपाली रुपैयाँको एक नयाँ प्लान्ट स्थापना गर्न लागेको अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले अजनाएको छ ।
ताइवानमा आधारित आइफोनका विभिन्न पुर्जा उत्पादन गर्ने उक्त कम्पनीले निर्माण गर्ने प्लान्ट बैङ्गलोर एअरपोर्ट नजिकै ३सय एकड जमीनमा फैलिएको र स्थापनापछि लगभग १ लाखजनालाई प्रत्यक्ष रोजगारी दिने किसिमको हुनेछ । उक्त कम्पनीले भारतमा गर्न लागेको यो अहिलेसम्मकै ठूलो लगानी हो र यो कदमले चीन-अमेरिका तनावले कसरी नयाँ देशहरूसम्म अवसरको ढोका खोलेको छ भन्ने पछिल्लो संकेत रहेको विज्ञहरूको अनुमान रहेको छ ।
प्रतिक्रिया