काठमाण्डाै। नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बाँस्तोलाले नेपालमा राजतन्त्र पुनःस्थापना हुन असम्भव भएको बताएका छन् ।
आइतवार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेशनले काठमाण्डाैमा आयोजना गरेको एक अन्तरक्रियामा बोल्दै संयोजक बाँस्तोलाले नेपालमा राजतन्त्र पुनःस्थापना हुने कुरा असम्भव भएको बताएका छन् ।
उनले जसले जति नारा लगाए पनि राजतन्त्र नफर्किने बताए । उनले देशमा अधुरा रहेका क्रान्तिहरू सम्पन्न गर्नका लागि सबै कम्युनिस्ट शक्तिहरू मिल्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘अहिले राजतन्त्र सम्भव छैन यहाँ । जसले जति नारा लगाए पनि पछाडि फर्कने कुराले अगाडि जान सकिँदैन । त्यस कारण अहिले हामी सबै माओवादीहरू एक ठाउँमा हुन जरुरी छ । तर के को निम्ति ? अगाडि जानको निम्ति । अगाडि बढ्नको निम्ति । नेपालमा अधुरो रहेका शहीदका सपनाहरू पूरा गर्नको निम्ति ।
शहीदको सपना पूरा गर्ने भनेको अधुरो रहेको क्रान्ति सम्पन्न गर्ने कुरा हो । नयाँ जनवादसहित वैज्ञानिक समाजवादी गर्ने कुरा हो । अहिले केही साथीहरू नयाँ जनवाद सम्पन्न भयो भन्दै छन् ।
यस्तै हुन्छ नयाँ जनवादभित्र ? यस्तो हुँदैन । अहिले फेरि २०५२ सालको जस्तो पनि सम्भव छैन । नयाँ तरिकाले हामी अगाडि बढ्नुपर्ने छ । त्यसको निम्ति हामी सबै एकठाउँमा आउँ । नेपालमा क्रान्ति कसैले रोक्न सक्दैन ।’
प्रतिक्रिया