काठमाण्डाै। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउनु भनेको माओवादीलाई जिस्काउनु रहेको टिप्पणी गरेका छन् ।
आइतवार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेशनले काठमाण्डाैमा आयाेजना गरेकाे एक अन्तरक्रियामा बोल्दै अध्यक्ष भट्टराईले तीन वर्षअघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाऊ भन्नु माओवादी आन्दोलनलाई जिस्क्याउनु भएको बताएका छन् ।
उनले पछिल्लो समय माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति हाबी भएको आरोप लगाए । यसको विरुद्धमा सबै माओवादीहरू एक ठाउँमा उभिन आवश्यक रहेको उनको भनाइ छ ।
उनले भने, ‘मैले एउटा मन बनाइसकेको छु, नजिकको साथीलाई भनिसकेको छु, हामीले एकै पटक पार्टी एकतामात्रै भनेर गलो मिलाउनुभन्दा पनि पहिला निमर्मतापूर्वक कसले के गल्ती गरेको छ, त्यसको छलफल गरौँ । त्यसपछि मिल्न सक्नेहरू जति एक ठाउँमा आउँ, एउटा पार्टी बनाऔँ ।
पहिला समय लाग्छ भने एउटा मोर्चा बनाऔँ । अहिले यत्रो आक्रमण भइरहेको छ । माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति भएको छ, एउटा बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउने हो ? यो निहुँ खोजेको होइन ?
३ वर्षअघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगा भनेर निर्णय गर्ने कुरा भनेको त्यो निहुँ खोजेको होइन, जिस्केको होइन त्यो ? यस्ता कुरामा सहकार्य त हामी गर्नसक्छौँ नि ।’
भट्टराईले माओवादी विभाजित भए पनि अब मिलेर जानुपर्ने बेला आएको बताए । उनले सबैले आफ्ना गल्ती र कमजोरीहरू महसुस गरेर अघि बढ्नु नै देश र नागरिकका लागि कल्याणकारी हुने भट्टरइले बताए ।
प्रतिक्रिया