काठमाडौं । संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्ने माग राख्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौंमा प्रदर्शन गरेको छ ।
व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानले काठमाडौंको माइतीघरमा भेला भइ नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरुले नेपाललाई हिन्दुराष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने भन्दै राजतन्त्रको पक्षमा नाराबाजी गरेका छन् ।
पूर्व राजा ज्ञानेन्द शाहलाई उपस्थित गराई झापाबाट सुरु भएको प्रसाईँको अभियानले देशका विभिन्न शहरमा प्रदर्शन गरिसकेको छ ।
महाअभियानले बैंकको ब्याजदर घटाउनु पर्ने, २० लाखम्म ऋण मिनाहा गर्नुपर्ने लगायतका माग पनि राखेको छ भने ५ प्रतिशत ब्याजमा ऋण पाउनु पर्ने प्रसाईँको माग छ ।
यस्तै, कैलालीमा स्कुल बसले ठक्कर दिदा एक जना वृद्धको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका-६ को खैरानामा माउन्ट शैपाल स्कुलको से १ क ४४१ नम्बरको बसले ठक्कर दिदा सोही ठाउँ बस्ने ६५ वर्षीया बाटुबट्टे आलेमगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार बसको ठक्करबाट गम्भीर घाइते भएका आलेमगरको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको जनाइएको छ ।
यसैबीच, घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । दोषीलाई कारबाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै उनीहरुले राजमार्गमा अवरोध सिर्जना गरेपछि सवारीसाधन चल्न सकिरहेका छैनन् ।
प्रतिक्रिया