काठमाडौँ । काठमाडौँको नागढुङ्गामा गरिएको विशेष चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने ११ जना चालकलाई शुक्रबार राति प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी अस्पताल, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले शुक्रबार राति १० बजेदेखि साढे ११ बजेसम्म २५ ओटा सवारी साधनका चालकलाई चेक गर्दा ११ जनाले लागुपदार्थ सेवन गरी सवारी चलाएको भेटिएको हो ।
बा २ ख १२४४ नम्बरको हाइसका चालक धादिङका २६ वर्षीय ईश्वर श्रेष्ठ, ग १ ख २७७२ नम्बरको हाइसका चालक धादिङकै २६ वर्षका नारायण परियार, बा २ ख २०७४ नम्बरको हाइसका चालक धादिङकै ३२ वर्षीय विकास मिजार, ग १ ख २९५९ नम्बरको हाइसका चालक गोरखाका २९ वर्षीय नरेश गुरुङ, ग १ ख २९५७ नम्बरको हाइसका चालक बाराका ३८ वर्षीय राम प्रसाद आचार्य, ग १ ख २८१९ नम्बरको हाइसका चालक कास्कीका २६ वर्षीय नविन बिक, प्रदेश २-०३-००१ ख ०५१९ नम्बरको बसका चालक सर्लाहीका २३ वर्षीय नजाम हुसेन, बा ८८ प २४७५ नम्बरको मोटरसाइकलका चालक भोजपुरका ४० वर्षीय श्याम कुमार तिरुवा, ना ७ ख ६२२४ नम्बरको ट्रकका चालक ४० वर्षीय बाराका जयराम साह तेली, ना ४ ख ७१९५ नम्बरका ट्रकका चालक ललितपुरको गोदावरी ३ का ३४ वर्षीय बिक्रम दमाई र बा ४ ख ६२९ नम्बरको टिपरका चालक धादिङका २५ वर्षीय अशोक घिमिरेलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका ११ जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी प्रभाग बलम्बु पठाइएको छ । उनीहरूलाई थुनामा राखेर लागुऔषध सेवनको मुद्दा चलाइने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।
मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकहरूलाई लामो समयदेखि नै ट्राफिक प्रहरीले कारबाही गर्दै आए तापनि पछिल्लो समय लागुऔषध समेत सेवन गरेर सवारी साधन चलाउने चालकहरू भेटिन थालेपछि लागुऔषध चेकजाँच अभियानलाई तीव्रताका साथ अगाडी बढाइएको छ । आउँदै गरेको होलीको दिन पनि व्यापक रूपमा लापसे र मापसे चेकिङ गरिने प्रवक्ता भट्टले बताएका छन् ।
यस्तै, सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेललगायत नेपालका विभिन्न क्षेत्रमा पर्यटकको चहलपहल र आगमन बढ्न थालेको छ । कोरोना महामारीबाट थला परेको ठमेललगायत देशभरका पर्यटकीय गन्तव्यमा विस्तारै पर्यटकीय चहलपहल बढ्न थालेको हो ।
अहिले काठमाडौँको ठमेल क्षेत्रमा विस्तारै विदेशी पर्यटक देखिन थालेका छन् । ठमेल क्षेत्रका सडकमा व्यवसायी देखिन थालेसँगै लामो समयदेखि तनावमा रहेका पर्यटन व्यवसायीमा आशा जाग्न थालेको छ ।
ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष निलहरि बाँस्तोला पर्यटन आवागमनसँगै नेपालको पर्यटन उद्योगमा केही आशा पलाएको बताउँछन् । “लामो समय कोरोना महामारीबाट थलिएको नेपालको पर्यटन क्षेत्रमा पर्यटक आएसँगै खुसी छाएको छ”, उनी भन्छन् । विश्व सम्पदा सूचीमा रहेका नेपालका पर्यटकीय क्षेत्रलाई व्यवस्थित गरेर जतिसक्दो पर्यटक भित्र्याएर राज्यले फाइदा लिनुपर्ने उनको भनाइ छ ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्मा अहिले ठमेलमा विदेशी पर्यटक बढ्न थालेको बताउँछन् । “ठमेलका भित्री गल्लीमा विस्तारै विदेशी पर्यटक देख्न थालिएको छ”, उनी भनंछन् । ठमेलमा ८० प्रतिशत व्यापार बाह्य पर्यटकबाट र २० प्रतिशत व्यापार आन्तरिक पर्यटकबाट हुने गरेको छ । ठमेल क्षेत्रमा एक हजारभन्दा बढी होटल रहेका छन् ।
ठमेलको चारतारे होटल रमदा इन्कोरका सञ्चालक गोपाल पङ्गेनी पर्यटन मौसम सुरु भएसँगै आफ्नो होटलमा बुकिङ गर्ने पर्यटकको स-ङ्ख्या बढेको बताउँछन् । अङ्ग्रेजी पात्रोअनुसार मार्च, अप्रिल र मे महिनालाई नेपालमा पर्यटकीय मौसमका रूपमा लिने गरिन्छ । काठमाडौँ महानगरपालिका–१६ ठमेलमा ९२ कोठासहित सञ्चालनमा रहेको रमदा होटलमा मार्चमा ७० प्रतिशत, अप्रिल र मेमा ९० प्रतिशत कोठा बुकिङ भएका छन् ।
प्रतिक्रिया