काठमाण्डाै। देशका धेरै ठाउँमा मौसम आंशिक बदली रहेको छ । आज कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी केही ठाउँमा मौसम आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँभने यी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
काठमाण्डौ उपत्यकामा पनि दिउँसोतिर मेघगर्जनसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताए । साथै आज उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली नै रहने अनुमान छ । अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका अरु बाँकी ठाउँमा आजको मौसम सामान्यतया सफा नै रहने छ ।
भोलि लुम्बिनी प्रदेशका थोरै ठाउँमा हावाहुरीको सम्भावना देखिएको छ । अबको तीन दिन कतै कतै मेघगर्जन, हावाहुरी र चट्याङसहित हल्का वर्षा पनि हुने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ ।
यस्तै, प्रि–मनसुनसँगै चट्याङको डर बढेको छ । पछिल्लो २४ घण्टामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोजपुरको षडानन्द नगरपालिका–१२ पिप्लेमा चट्याङबाट एक जनाको ज्यान गएको हो । अर्का एक पुरुष घाइते भएका छन् ।
यस्तै, सङ्खुवासभाको चिचिला गाउँपालिका-३ सिरुवारीमा घरमै बसेका बेला चट्याङ लागेर एक महिला घाइते भएकी जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । धनकुटाको महालक्ष्मी नगरपालिका-४ गैरीटोलमा दुई जना महिला र एक पुरुष घाइते भएका विपद् प्राधिकरणले जनाएको छ ।
गएको वैशाखयता हिजोसम्म चट्याङका २ सय ३६ वटा घटना भएका छन् । यो अवधिमा ८० जनाले ज्यान गुमाएका छन् भने २ सयभन्दा धेरै घाइते भएका प्राधिकरणको तथ्याङ्क छ । नेपालमा हिउँदयाम सकिएसँगै प्रि–मनसुन सुरु भएको छ ।
प्रि–मनसुनको अवधि मार्च, अप्रिल र मे गरी तीन महिनासम्म रहन्छ । प्रि–मनसुनमा दिउँसोपख मेघगर्जन/चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना हुन्छ । चट्याङ पर्दा शरीरमा त्यसको विद्युत् प्रवाह भएर घाइते हुने तथा ज्यान नै जाने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउछन् ।
अबका तीन-चार महिना चट्याङ पर्ने सम्भावना उच्च हुने भएकाले सावधानी अपनाउन पनि उहाँको आग्रह छ। चट्याङ पर्ने समयमा किसानलाई दिउँसो तथा बेलुकापख काम गर्दा सचेत हुन, त्यस्तै गड्याङगुडुङको आवाज सुनेपछि घरभित्र वा सुरक्षित ठाउँमा बस्न पनि उनको आग्रह छ ।
प्रतिक्रिया