कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभामा आइतबार विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने भएका छन् । सो प्रयोजनका लागि आइतबार दिउँसो १ बजे बस्नेगरी प्रदेशसभा बैठक आह्वान गरिएको छ ।
प्रदेशसभा सचिव देवबहादुर बोगटीका अनुसार सभामुखको आदेशले आइतबारका लागि प्रदेशसभा बैठक आह्वान गरिएको छ । मुख्यमन्त्री शाहले विश्वासको मत लिने व्यवस्था मिलाइदिन सभामुखलाई पत्र पठाएअनुसार बैठक आह्वान गरिएको उनले बताए ।
प्रदेशसभामा ठुलो दलको हैसियतले कांग्रेस संसदीय दलका नेता शाहले सरकार गठन गरेका छन् । उनी मुख्यमन्त्री बनेपछि केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै प्रदेशसभामा सोही अनुसारको राजनीतिक समीकरण बन्ने आकलन छ ।
केन्द्र अनुसारकै समीकरण बन्ने हो भने प्रदेशसभामा उनलाई विश्वासको मत प्राप्त हुने सहजै अनुमान गर्न सकिन्छ ।
यस्तै, कैलालीको धनगढीमा सिटीनेटको बैठक आयोजना हुँदैछ । देशका विभिन्न महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख र उपप्रमुख बैठकमा सहभागि हुन धनगढीमा भेला भएका छन् ।
सिटीनेट नेपाल नेसनल (सीएनएनसी) च्याप्टरको राष्ट्रिय बैठकमा भाग लिन नगरप्रमुख र उपप्रमुख धनगढी पुगेका हुन् ।
धनगढी उपमहानगरपालिकाको आयोजनामा हुने बैठकमा भाग लिन ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, पोखरा महानगरका प्रमुख धनराज आचार्य, वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंह धनगढी पुगेका छन् ।
त्यस्तै हेटौडाका नगरप्रमुख मीनाकुमारी लामा, नेपालगञ्जका नगरप्रमुख प्रशान्त विष्ट, ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रमुख पदमप्रसाद बोगटी पनि धनगढी पुगेका छन् ।
यस्तै, बैठकमा भाग लिन विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्की, भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारी पनि धनगढी पुगेका जनाइएको छ ।
धनगढीमा हुने बैठकमा सहभागि हुन पालिका प्रमुख र उपप्रमुख धनगढी पुग्ने क्रम जारी नै रहेको धनगढी उपमहानगरपालिकाले जनाएको छ। धनगढीमा देशभरका पालिका प्रमुख र उपप्रमुखहरुको उल्लेख्य उपस्थिती देखिएको छ ।
प्रतिक्रिया